राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले राप्रपाको सान्दर्भिकता र विकल्प झन् बढेको दाबी गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीको ३१ औं स्थापना दिवसको अवसरमा राणाले प्रजातन्त्रमाथि ठूलो चुनौती रहेको बताए।
शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘थाम्नै नसकिने कर र ऋणको भार छ। साँघुरो राजनीति, संस्थागत भ्रष्टाचार, विभेद, हत्या, बलात्कार, दण्डहीनता नियमित बनेको छ। प्रजातन्त्र ठूलो चुनौतीमा छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको सान्दर्भिकता र विकल्प झन् उजागर छ।’
यस्तै, उनले जीवन रक्षाको मन्त्रणा गरेर नथाक्ने सरकारले जनताको जीवनमाथि खेलबाड गरेको आरोप पनि लगाएका छन्।
परीक्षण सामाग्री र उपकरणको चरम अभावबाट महामारी सरकारको प्राथमिकता नरहेको प्रष्ट भएको उनको भनाइ छ। राप्रपा अध्यक्ष राणाले सत्ता होइन, जनता जोगाउन सरकारलाई आह्वान गरेका छन्।
‘स्वाब नमूना सुरक्षित राख्ने भीटिएमसहित पीसीआर किटको चरम अभाव छ। परीक्षण सामाग्री उपलब्ध छ भन्ने सरकारको दाबीमाथि संचारजगतको ठूलो चुनौती छ,’ बिहीबार ट्वीट गर्दै राणाले भने। ‘जीवन रक्षाको मन्त्र जप्ने सरकारले यस्तो खेलबाड गर्न सुहाएन। सत्ता होइन जनता जोगाउनु पर्यो। सरकार आफैँले खतरामाथि खतरा थोपर्न भएन।’

प्रतिक्रिया