विवादास्पद अभिव्यक्ती दिएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाही गर्न संसदमा आवाज उठेको छ।
संघीय संसदको प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद विमल प्रसाद श्रीवास्तवले शेर्पालाई कारवाही गर्न माग गरेका हुन्। शेर्पाले मधेशी जनतालाई हाेच्याएकाे श्रीवास्तवकाे आराेप छ।
सांसद श्रीवास्तवले बैठकमा भने, ‘उहाँले मधेसीहरुलाई सेनाको माध्यम लगाएर राष्ट्रिय गान सिकाउँदैछु भन्ने जस्ता अभिव्यक्ति दिनुभएको हुनाले त्यस्ता अभिव्यक्ति दिने ति जिम्मेवार व्यक्तिलाई छानविन गरि आवश्यक कारवाही गर्न सभामुखमार्फत माग गर्दछु।’
एक अन्तर्वातामा अध्यक्ष शेर्पाले तराई मधेसका बालबालिकालाई खेलसँगै राष्ट्रियता सिकाउन जरुरी रहेको बताएका थिए।
नेपाल आर्मीसँगको सहकार्यमा तराईका सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा ग्रासरुट फुटबल सुरु गरेको बताउँदै अध्यक्ष शेर्पाले तराईका बच्चाहरुलाई फुटबलप्रति आकर्षण गर्नका लागि र राष्ट्रियता सिकाउनका लागि गरिएको बताएका थिए।
फुटबल सिक्नका लागि ब्यारेकमा आउँदा राष्ट्रिय गीत सिक्ने, नेपालको विषयमा चर्चा हुने र फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्न यस्तो गरिएको अभिव्यक्ती दिएका थिए।

प्रतिक्रिया