ad ad

राजनीति


ट्विटरले आफ्ना झुट कुरा भन्दिन थालेपछि ट्रम्प भए आगो

 ट्विटरले आफ्ना झुट कुरा भन्दिन थालेपछि ट्रम्प भए आगो

नेपालखबर
जेठ १४, २०७७ बुधबार ४:९,

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्ने ट्विटका कुरा साँचा हुन् कि झुटा, ट्विटरले भन्दिन थालेको छ।

राष्ट्रपति ट्रम्पले अरूलाई जथाभावी आरोप लगाएर ट्विट गर्न थालेपछि माइक्रो ब्लगिङ साइट ट्विटरले ‘तथ्य-जाँच’ राखेर उनको झुट पत्ता लगाउन थालेको हो।

यसै क्रममा ट्रम्पले मंगलबार राति गरेको ट्विटमा ट्विटरले पहिलोपटक तथ्य-जाँच प्रस्तुत गरेको छ। जहाँ ट्रम्पले ‘मेल-इन ब्यालट’ अर्थात् हुलाकमार्फत हुने चुनावमा धाँधलीबाहेक अरू केही नहुने दाबी गरेका छन्।

तर ट्विटरले त्यसको तल याे विधिबाट हुने मतदानसम्बन्धी तथ्य पेस गरेको हो। जसमा हुलाकबाट हुने मतदान पारदर्शी हुने र ट्रम्पको आरोप झुट भएकाे उल्लेख छ।  

ट्विटरले तथ्य-जाँचलाई चेतावनीको संकेत दिएकाे हुन्छ, जसमा क्लिक गरेपछि त्यसकाे तथ्य कुरा हेर्न पाइन्छ।

ट्रम्पले लगातार गलत र भ्रामक जानकारी पोस्ट गर्ने गरेकाे भन्दै सामाजिक सञ्जाल ट्विटरले सावधानीको संकेत दिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

ट्रम्पले सन् २००१ मा भएको लोरी क्लाउसुटिसको निधनबारे गरेको भ्रामक ट्विट डिलिट गर्न नमानेपछि ट्विटरले उनका ट्विटमा तथ्य-जाँच राख्न थालेको हो।

ट्विटरले यसरी आफ्ना ट्विटमा तथ्य-जाँच राख्न थालेपछि ट्रम्प भने अति आक्रोशित भएका छन्।

उनले लगातार ट्विट नै गरेर यो वाक् स्वतन्त्रताको हनन भएकाे आरोप लगाएका हुन्। आफू राष्ट्रपति भएको अहम व्यक्त गर्दैै उनले आफ्नो वाक् स्वतन्त्रतामा आक्रमण नगर्न ट्विटरलाई चेतावनीसमेत दिएका छन्।

ट्विटरको यस कदमलाई राष्ट्रपति ट्रम्पले ट्विटमार्फत नै आसन्न राष्ट्रपति निवार्चनमा गरिएको हस्तक्षेपसमेत भनेका छन्।

‘ट्विटरले २०२० को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न सुरू गरेको छ। उनीहरूले मेल इन ब्यालोट्समा मैले दिएको भनाइले व्यापक भ्रष्टाचार र धोकातर्फ लैजाने बताइरहेका छन्, जुन गलत हो। उनीहरूले यो सब सीएनएन र अमेजन वासिङटन पोस्टको गलत समाचारमा आधारित भएर गरिरहेका छन्,’ ट्रम्पले ट्विटमार्फत भनेका छन्, ‘ट्विटरले वाक स्वतन्त्रतालाई नियन्त्रण गर्ने काम गरिरहेकाे छ तर म त्यस्तो हुन दिन्नँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .