राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश अधिवेशन दाङमा सुरु भएको छ।
रास्वपा प्रदेश नेतृत्वको लागि सहमतिको प्रयास गरिएको थियो। तर, सहमति नजुटेपछि निर्वाचन हुन लागेको छ। प्रदेश सभापतिका लागि ६ जनाले उम्मेदवारी दिएका छन्।
अहिलेका उपसभापति शालिकराम घिमिरे, केन्द्रीय संगठन विभाग सदस्य गोपाल घिमिरे, केन्द्रीय विभाग सदस्य मधु अर्याल, केन्द्रीय विभाग सदस्य गणेश पौडेल, सांसद मञ्जु ज्ञवाली र बाँकेका नेता डा. राजकुमार सुवेदीले उम्मेदवारी दिएका छन्।
त्यस्तै, प्रदेश सदस्यमा ७८ जनाले उम्मेदवारी दिएका छन्। प्रदेश समितिमा ५७ सदस्य रहने व्यवस्था छ।
रास्वपाको विधानअनुसार, प्रदेश सदस्यबाट सभापति निर्वाचित हुनेछन्। अहिले निर्वाचनको तयारी भइरहेको संवाद समितिकी कल्पना पाण्डे लम्सालले जानकारी दिइन्।
प्रदेशका १२ जिल्लामध्ये रुकुम (पूर्व) बाहेक ११ जिल्लामा अधिवेशन भइसकेको छ। अधिवेशन भएका जिल्लाबाट जिल्ला प्रतिनिधि आएका छन्।
Shares

प्रतिक्रिया