राजनीति


७५० अमेरिकी डलर थप तिरे १० दिनमै भिसा अन्तर्वार्ता, पाउने निश्चित छैन

७५० अमेरिकी डलर थप तिरे १० दिनमै भिसा अन्तर्वार्ता, पाउने निश्चित छैन

नेपालखबर
जेठ २७, २०८३ बुधबार १४:४, काठमाडौँ

संयुत्त राज्य अमेरिका (युएस) ले पर्यटक भिषा आवेदकका लागि ‘प्रिमियम’ सेवा लागू गर्ने भएको भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एशोसिएटेड प्रेस (एपी) ले स्टेट डिपार्टमेन्टको गोप्य कागजात आफूले प्राप्त गरेको भन्दै लेखेको छ– प्रिमियम सेवा जुलाई १ देखि सुरु हुँदैछ।

यो सेवा लिन चाहने भिषा आवेदकले नियमित शुल्क १८५ बाहेक अतिरिक्त ७५० अमेरिकी डलर बुझाउनु पर्नेछ। अमेरिकी दूतावास, महावाणिज्यदूतावासले यस्ता आवेदकको भिषा अन्तर्वार्ता सेड्युल पैसा बुझाएको मितिदेखि १० दिनभित्र राख्नेछन्।

डोनाल्ड ट्रम्पले शासन सम्हालेपछि अमेरिकाले बसाइँसराइँ नियमहरु (माइग्रेसन नीति) मा कडाइँ गरेको थियो। गत वर्ष 'ओभरस्टे' दर उच्च भएका देशका नागरिकलाई भिसा अन्तर्वार्ता अगाडि १५ हजार अमेरिकी डलर बन्ड राख्नुपर्ने व्यवस्था लागू गरेको थियो। सामाजिक सञ्जाल अकाउन्टसहित वषौँको व्यक्तिगत इतिहासको विवरण खुलाउनु पर्ने व्यवस्था अनिवार्य गरेको थियो।

‘अहिलेको यो प्रिमियम सेवाका लागि थप ७५० अमेरिकी डलर तिर्दैमा भिसा जारी हुने ग्यारेन्टी हुँदैन’, स्टेट डिपार्टमेन्टका अधिकारीलाई उदृत गर्दै एपीले लेखेको छ। 

फोर्ब्स म्यागेजिनको अनलाइनले पनि ७५० डलर बुझाए छिटो अन्तर्वार्ता मिति पाइने यो नयाँ व्यवस्थासम्बन्धी समाचार प्रकाशन गरेको छ। उसका अनुसार यी हुन् ५ परिवर्तन:

(१) व्यापार र भ्रमणका लागि अमेरिका जानेहरुले द्रुत गतिको बी–वान/बी–२ भिसा निवेदन दिँदा अन्तर्वार्ताका लागि ७५० डलर थप बुझाएमा ‘प्रिमियम’ सेवा पाउनेछन्।

(२) 'फार्स्ट ट्रयाक' अन्तर्वार्ता 'अपोन्टमेन्ट' बुक गर्दा ५ देखि १० मिनेटभित्र पछि फिर्ता नपाउने गरी ७५० डलर भुक्तानी गर्नुपर्नेछ। सो अवधिमा पैसा नबुझाए उनीहरुको बुकिङ रद्द हुनेछ।

(३) विश्वका केही अमेरिकी दूतावास र वाणिज्य दूतावासमा भिसा अन्तर्वार्ताको लागि ७–८ महिनासम्म पर्खिनुपर्ने अवस्था छ। आकस्मिक वा तत्कालै गर्नुपर्ने जरुरी यात्राका लागि भिसा आवेदन दिन गाह्रो छ। ‘प्रिमियम’ सेवाले तत्काल अमेरिका यात्रामा जानुपर्नेलाई लाभ पुग्नेछ।

(४) ‘प्रिमियम’ सेवा सधैँलाई लागू गर्न लागिएको होइन। अहिले परीक्षणका लागि जुलाई १ देखि डिसेम्बर ३१ सम्म लागू हुँदैछ।

(५) ‘फार्स्ट ट्र्याक प्रिमियम’ सेवा विश्वभरिका सबै अमेरिकी दूतावास र नियोगमा उपलब्ध हुनेछैन। कुन कुन देशमा रहेका उसका दूतावासबाट यो सेवा लागू हुँदैछ भनेर अहिलै विवरण सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad