ad ad

राजनीति


जनप्रतिनिधि नै काेराेना संक्रमित भएपछि भक्तपुर नगरपालिका जोखिममा, बस्ती नै सिल गरियो

जनप्रतिनिधि नै काेराेना संक्रमित भएपछि भक्तपुर नगरपालिका जोखिममा, बस्ती नै सिल गरियो

नेपालखबर
जेठ १०, २०७७ शनिबार ९:२,

भक्तपुर नगरपालिका वडा नं ९ की ४२ वर्षीया महिला जनप्रतिनिधिमा पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएपछि उनी बस्ने बस्ती सिल गरिएको छ।

भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा गत ६ गते स्वाब संकलन गरी जनप्रतिनिधि, सफाइ कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलाको स्वाब संकलन गरी भक्तपुर अस्पतालमार्फत टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा पठाइएको थियो।

प्रयोगशालामा भएको परीक्षणको शुक्रबार राति सार्वजनिक भएको नतिजामा कोरोना पोजेटिभ आएपछि शनिबार बिहान प्रहरीको टोलीले महिला जनप्रतिनिधि बस्ने भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रह्मायणी जाने सडकको मालपोत कार्यालय क्षेत्र आसपासका १८ घर रहेको बस्ती सिल गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

संक्रमित महिलाले शुरुमा अस्पताल नगई घरमै बस्छु भने पनि पछि नगरपालिकाका अन्य जनप्रतिनिधि र प्रहरीको आग्रहमा उनलाई राति पाटन अस्पतालको आइसोलोसनमा लगिएको थियो। टेकु अस्पताल लैजाने तयारी गरिए पनि संक्रमित महिला मुटु रोगको समेत बिरामी भएकाले पाटन अस्पताल लगिएको हो।

विगतमा स्वास्थ्य स्वयंसेविका समेत रहेकी संक्रमित महिला नगरपालिकाको बैठक, पार्टीको गतिविधि, राहत वितरणदेखि कोरोना संक्रमणबाट कसरी बच्ने र बचाउने भन्नेबारेमा स्थानीय टोल टोलमा जनचेतनासमेत फैलाउँदै हिँड्ने गरे पनि आफैँ कोरोना संक्रमित भएको स्थानीयवासीको भनाइ छ।

यसअघि उनको मुटुको शल्यक्रिया गरिसकेको र स्वास्थ्य परीक्षणका लागि पटक पटक अस्पताल जाने गरेको र अस्पतालबाट वा समुदायमा विभिन्न गतिविधिमा हिँड्ने भएकाले समुदायबाटै पनि संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ। संक्रमित महिलाको परिवारको अन्य सदस्यलाई निगरानीमा राखेर आजै स्वाब संकलन गर्ने तयारी गरिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए। वडा अध्यक्षलगायत अन्य जनप्रतिनिधिलाई भने आफ्नै घरमा क्वारेन्टिनमा बसेका छन्।

जनप्रतिनिधिमा नै कोरोना भाइरस संक्रमण पाइएपछि भक्तपुर नगरपालिका क्षेत्र जोखिम क्षेत्रमा परेको छ। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर नगरपालिकाको समुदायस्तरमै कोरोना भाइरस जोखिम बढेकाले जतिसक्दो छिटो परीक्षण बढाउनुपर्ने आवश्यकता रहेकाले नगरपालिकासग यसबारेमा छलफल भइरहेको उनको भनाइ थियो।

प्रजिअ पाण्डेले भने, ‘भक्तपुर नगरपालिका क्षेत्रभित्र कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका गरेका छौँ, त्यसैले लकडाउनलाई कडाइ गर्दै प्रत्येक घरको कम्तीमा एक जनाको स्वाब संकलन गरी परीक्षण गर्नेबारेमा नगरपालिकासँग छलफल भइरहेको छ।’ लकडाउन कडाइ गर्दै घरबाट बाहिर निस्कन नदिने अवस्थामा पानी तथा खाद्यान्नलगायतका अत्यावश्यक सामग्री भने टोल टोलमा पु¥याएर केही समय कडाइ गरी परीक्षणको दायरा फराकिलो पार्न सकिने उनको भनाइ थियो।

संक्रमित महिला जनप्रतिनिधिकै वडा कार्यालयमा काम गर्ने सचिवको आरडीटी पोजेटिभ देखिए पनि पीसीआर भने नेगेटिभ आएको छ। महिला जनप्रतिनिधिसँगै भक्तपुरको स्थानीय समुदायमा दुई र बाहिरी जिल्लाबाट आएर बस्ने दुई गरी चारजनामा संक्रमण पुष्टि भएको छ। यद्यपि भक्तपुरमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भएका दुवाकोटका सशस्त्र प्रहरी जवान र मध्यपुरथिमि साथीकोमा बस्ने महिला स्वास्थ्य कर्मचारी भने आइसोलेसनमा उपचारपछि डिस्चार्ज भएका छन्।

त्यस्तै काठमाडौँ महानगरपालिकाको फोहर सङ्कलन गर्ने सवारी चालक भक्तपुर–५ योसिंखेलका सङ्क्रमित हुन्। योसिंखेलमा ३५ घरमा गरिएको सिल खुलेको छैन। संक्रमितको घरपरिवारका १२ जनाको कोरोना भाइरस परीक्षण गरिए पनि रिपोर्ट आएको छैन।

नगरपालिकाको दुईवटा टोलमा कोरोना संक्रमण पुष्टि भए पनि नगरपालिकाभित्रका नागरिक भने अझै पनि लकडाउन उल्लंघन गर्ने गरेको, बजारमा बिहान दैनिक भीड लाग्ने गरेको छ। यसलाई नगरपालिका र प्रहरीले रोक्न नसकेको गुनासो बढेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .