ad ad

समाज


कोरोनाः काठमाडौंमा नयाँ संक्रमितको संख्या ३१ पुग्यो, कुन अस्पतालमा कति?

कोरोनाः काठमाडौंमा नयाँ संक्रमितको संख्या ३१ पुग्यो, कुन अस्पतालमा कति?

नेपालखबर
जेठ १०, २०७७ शनिबार ८:४०,

लकडाउन लागू भएयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण पुष्टि भएका नयाँ बिरामीको संख्या ३० नाघेकाे छ। आजै (शनिबार) बिहान काठमाडौंमा रहेका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उपत्यकामा संक्रमितको संख्या ३१ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले शनिबार दिउँसाे नेपालखबरलाई दिएकाे जानकारीअनुसार यसमा धेरैजसो बाहिरी जिल्लामा घर भई काठमाडौं उपत्यकामा बस्ने व्यक्ति छन्। केही व्यक्ति मात्रै उपत्यका घर भएका छन्। 

उनका अनुसार आज थपिनेमा एक जना काठमाडौंकै हुन्, जो ग्रान्डी अस्पतालमा उपचाररत छन्। यस्तै आजै बिहान संक्रमण पुष्टि भएका सर्लाहीका १३ मध्ये एक जना पनि काठमाडौंमै उपचाररत रहेको सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए।

सर्लाही कविलासीका ती व्यक्ति भारतबाट घर फर्किने क्रममा दुर्घटनामा परेर घाइते भएपछि उपचारका लागि काठमाडौं आएका हुन्। उनको यहीं स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो। 

‘उनी पनि काठमाडौंकै एक अस्पतालमा छन्,’ सहप्रवक्ता डा. अधिकरीले नेपालखबरसँग भने, ‘अस्पतालको नाम किन लिनु, यहाँ एक जना पोजिटिभ देखिनेबित्तिकै आत्तिने चलन छ।’

आज थपिएका यी दुईसमेत गर्दा अहिले काठमाडौं उपत्यकाका विभिन्न अस्पतालकाे आइसाेलेसनमा ३१ कोरोना संक्रमित रहेकाे उनले जानकारी दिए।

यिनमा काठमाडौं, भक्तपुर र ललितपुर तथा अन्यमा धादिङ, मकवानपुर, रामेछाप, चितवन तथा सर्लाही घर भएका व्यक्ति छन्। अहिले कुन जिल्लाका कति जना भन्ने ठ्याक्कै तथ्यांक दिनचाहिँ नसकिने उनले बताए।

यी ३१ संक्रमितमध्ये सबैभन्दा बढी बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा १५ जना, पाटन अस्पतालमा १२ जना, टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ जना र त्रिवि शिक्षण अस्पतालमा १ जना रहेको उनले जानकारी दिए। 

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित भने मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ हुप्रचौर घर भएकी ५४ वर्षकी महिला भएकाे पत्ता लागेकाे छ। उनी शुक्रबार कोरोना संक्रमण पुष्टि भएकी हुन्। 

आज थपिएका ग्रान्डीमा उपचाररत १ र सर्लाहीका १ जनालाई भने कुन अस्पतालमा राख्ने भन्ने छलफल भइरहेको सहप्रवक्ता डा. अधिकारीले बताए। 

याे पनि: आज काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका बिरामी ग्रान्डी अस्पतालका, सिल गर्ने तयारी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .