नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न ‘लिडरसिप एकेडेमी कोर्स’ अनिवार्य गर्ने भएको छ।
कांग्रेस सभापति गगन थापाले कोर्स पूरा गरेपछि मात्रै उम्मेदवारका लागि टिकट प्रदान गरिने बताएका छन्। शनिबार नेपाल थारू संघको अधिवेशनमा बोल्दै सभापति थापाले ‘लिडरसिप एकेडेमी कोर्स’ अनिवार्य गरिएको बताएका हुन्।
‘हामीले अहिले नेतृत्वको एउटा छुट्टै युनिट बनाएका छौँ, लिडरसिप एकेडेमी भनेर जसमा पार्टीको तर्फबाट अब हामी केही दिनमा यसको खुला आह्वान गर्छौँ,’ सभापति थापाले भने, ‘७५३ पालिकामा निर्वाचन लड्न चाहने, इच्छा राख्नुभएको कोही पनि हुनुहुन्छ, म उम्मेदवार बन्न चाहन्छु भनेर कोही अहिले दोहोरिन चाहनुभएको छ वा नयाँ उम्मेदवार बन्न चाहनुभएको छ भने अनिवार्य रुपमा लीडरशिप एकेडेमीमा भर्ना हुनैपर्छ र एउटा कोर्स पूरा गर्नैपर्छ।’
त्यस्तै, महिलाको राजनीतिक प्रतिनिधित्व बढाउने तयारी थालेको बताए। आगामी निर्वाचनमा ७५३ स्थानीय तहमध्ये कम्तीमा १०० पालिकामा कांग्रेसको तर्फबाट महिला मेयर वा अध्यक्ष उम्मेदवार उठाउने लक्ष्यका राखिएको बताए।
‘अर्को साल निर्वाचन छ, स्थानिय चुनाव आउँछ, प्रदेशको चुनाव आउँछ, यो पटक कम्तिमा पनि ७५३ मध्ये हामीले १०० पालिकामा नेपाली काँग्रेसको पार्टीको तर्फबाट मेयर अथवा अध्यक्षको उम्मेद्वार महिला बनाउनेगरी काम गर्नुपर्नेछ,’ थापाले भने, ‘अहिलेदेखि काम गरौँ, अहिलेदेखी कोशिष गरौँ।’
यस लक्ष्य हासिल गर्न अहिलेदेखि नै महिला नेतृत्व विकास, प्रशिक्षण र उम्मेदवार तयारीमा लाग्नुपर्ने उनको भनाइ थियो। उम्मेदवार छनोट र तयारीलाई व्यवस्थित बनाउन पार्टीले निर्वाचन ब्यूरो गठन गरेको जानकारी दिए।
महिला उम्मेदवारको संख्या बढाउन अहिलेदेखि नै बढीभन्दा बढी महिलालाई नेतृत्व विकास कार्यक्रम र प्रशिक्षणमा सहभागी गराउन आवश्यक रहेको उनको भनाइ थियो। कांग्रेसले आगामी निर्वाचनमा विभिन्न समुदायको व्यापक प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्य राखेको पनि उनले बताए।
उनले नेपाल थारू संघलाई पनि सम्भावित उम्मेदवारको खोजी, प्रोत्साहन, प्रशिक्षण लगायतका काममा सहभागी हुन आग्रह गरे। योग्य व्यक्तिलाई निर्वाचन ब्युरो र लिडरशिप एकेडेमीसँग जोडेर नेतृत्व विकासमा सहयोग गर्न सम्पूर्ण भ्रातृसंस्था लाग्नुपर्ने उनको भनाइ थियो।
Shares

प्रतिक्रिया