राजनीति


भर्चुअल दुनियाँबाट उदाएका शक्तिहरू दिगो हुँदैनन्, छिट्टै ओरालो लाग्छन्: वर्षमान पुन

भर्चुअल दुनियाँबाट उदाएका शक्तिहरू दिगो हुँदैनन्, छिट्टै ओरालो लाग्छन्: वर्षमान पुन

नेपालखबर
जेठ १६, २०८३ शनिबार १८:३०, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको लहरबाट उदाएका राजनीतिक शक्तिहरू दिगो नहुने टिप्पणी गरेका छन्। 

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता पुनले भर्चुअल दुनियाँबाट उदाएका शक्तिहरू छिट्टै ओरालो लाग्ने बताए। ‘भर्चुअल दुनियाँबाट छिट्टै उठेको आन्दोलन तिव्र रुपमा उठ्यो, तिव्र रुपमै तल जान सक्छ,’ पुनले भने, ‘अहिले यति तिव्रतामा आएको आन्दोलन त्यस्तै तिव्रतामा जान सक्छ र भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ।’ 

पछिल्लो समय विकसित राजनीतिक प्रवृत्तिको विश्लेषण गर्दै नेता पुनले यस्ता शक्तिहरूमा विचार र नेतृत्वको अभाव रहेको औँल्याए। ‘अहिले त एक महिनाभित्र दुई–दुई जना मन्त्री स्याक भएको होइन? किनभने त्यसरी आए, त्यसरी नै जान्छन्,’ उनले भने, ‘यो कुनै विचार, राजनीति, आन्दोलन, त्याग, बलिदान एउटा जग खडा गरेर आएको शक्ति होइन। आउँदा त्यसै आउँछ, जाँदा पनि त्यसै जाने हो।’

उनले अहिलेको डिजिटल युगमा एजेन्डाहरू सामाजिक सञ्जालबाटै तय हुने र त्यहाँ कुनै निश्चित नेतृत्व नहुने बताए। भर्चुअल दुनियाँको प्रभावका कारण निर्वाचनका क्रममा मतदान केन्द्रमा भौतिक उपस्थिति कम देखिए पनि परिणाम भने अनपेक्षित आउने गरेको उल्लेख गरे। 

‘अहिले डिजिटल प्लेटफर्ममा, सामाजिक सञ्जालमा, सञ्चार माध्यममा एजेन्डा बन्छ। त्यसपछि बराबरी सबै तेर्सो खालको मान्छेहरू, नेता कोहि नेतृत्व गर्ने हुँदैन, त्यही नै एजेन्डा बन्छ। लाइक माइन्डेडहरू, मन मिल्नेहरुको ग्रुप बन्छ र तिनीहरूले एउटा एजेन्डा सेट गर्छन्,’ उनले भने। 

उनले आफ्ना कार्यकर्ता र संगठनहरूलाई आजको प्रविधिमैत्री बनाउनु चुनौतीपूर्ण रहेको बताए। राजनीतिक विचार, त्याग, र बलिदानको जगविना आएका शक्तिहरूले समाज सम्हाल्न नसक्ने पुनको ठहर छ।

‘अस्ति भोट हाल्दा पनि मान्छे कहीँ छैन, बुथमा मान्छे छैन, पछि भोट गन्दा त हजारको हजार छ यो बुथमा। मान्छे छैन तर कहाँ छ? भर्चुअल दुनियाँमा छ, अनलाइनमा छ, सामाजिक सञ्जालमा छ,’ उनले भने, ‘त्यसैले हामीले यो सामाजिक सञ्जालमा हाम्रा संगठनहरू यो चाहीँ आजको प्रविधि मैत्री कसरी बनाउने, एउटा हाम्रो चुनौती यो छ।’

विगतको पञ्चायतकालीन संघर्ष र जनयुद्धको जस्तो ठोस संगठनात्मक आधार नभएका कारण हालको ‘भर्चुअल’ लहर स्थायी नहुनेमा उनको तर्क थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad