राजनीति


बजेट माथिल्लो वर्गलाई राम्रो भए पनि गरिबप्रति उदासिन छ: गगन थापा

बजेट माथिल्लो वर्गलाई राम्रो भए पनि गरिबप्रति उदासिन छ: गगन थापा

नेपालखबर
जेठ १६, २०८३ शनिबार १७:४२, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले केही संरचनागत र नीतिगत सुधारका प्रयासहरू अगाडि सारे पनि न्यून आय भएका र विपन्न वर्गका समस्या सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन्। 

शनिबार नेपाल थारू संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले बजेटमा कांग्रेसले लामो समयदेखि उठाउँदै आएका संरचनागत सुधारका कतिपय विषय समेटिनु सकारात्मक भएको बताए। उनले सकारात्मक पक्षहरूमा आवश्यक कानुन निर्माण गर्न प्रतिपक्षको हैसियतले कांग्रेसले सहयोग गर्ने बताए।

‘लामो समयदेखि नेपाली कांग्रेस पार्टीले नेपालको अर्थतन्त्रमा केही संरचनागत सुधार गर्नुपर्छ भन्ने कुराको पैरवी गर्दै आएको थियो,’ थापाले भने, ‘सरकारले ल्याएको बजेटमा संरचनागत सुधारका लागि थुप्रै सकारात्मक कुराहरूलाई अगाडि सारेको छ। थुप्रै नीतिगत कुराहरूमा सुधारका लागि अगाडि सारेको छ। यी कुरामा हामीले स्वागत पनि गर्नुपर्छ र आवश्यक परेको ठाउँमा भोलि यसका लागि चाहिने कानुनहरू निर्माण गर्नुपर्ने छ यसमा हामीले मद्दत पनि गर्नुपर्छ।’

यद्यपि बजेट र सरकारको कार्यशैलीले गरिबी निवारणभन्दा पनि ‘गरिब मास्ने’ नियत राखेको उनको आरोप थियो। ‘यो सरकारले एउटा कुराको मेसो पाउन सकिरहेको छैन। गरिबी र गरिब दुइटा फरक कुरा हुन्। गरिबी भनेको अवस्था हो, गरिबी भनेको अभावको अवस्था हो यो संरचनागत समस्या हो। यहाँ अभाव हुन्छ असमानताको कारणले गर्दा गरिबी यहाँ आउँछ, विभेदको कारणले गर्दा गरिबी आउँछ, ऐतिहासिक कारणले गर्दा गरिबी आउँछ, गरिबी अवस्था हो,’ थापाले प्रश्न गरे, ‘सरकारले गरिबी हटाउँछु भन्नुपर्ने ठाउँमा यो गरिबी हटाउने तिर लागेको छैन, यो गरिब मास्न तिर लागेको छ?’

सभापति थापाले आर्थिकमन्दी र बढ्दो महँगीका कारण न्यून आय भएका नागरिकको जनजीवन कष्टकर बनिरहेका बेला सरकार उनीहरूप्रति उदासीन बनेको बताए। ‘गरिब अथवा न्यून आय भएको सोसाइटीमा अलिकति तल्लो आय भएको सबै तह र तप्का त्यो वर्गप्रति उसको ठूलो उदासीनता छ,’ उनले भने, ‘यो भन्दा माथिल्लो तह माथिल्ला आम्दानी भएका मानिसहरूको सन्दर्भमा कतिपय कयौँ कुराहरू सकारात्मक छ।’

उनले भूमिहीन र सुकुम्वासीको बस्तीमा डोजर चलाएको प्रसंगलाई जोडे। ‘यो राज्यको नियत के देखिन्छ भने म गरिबी हटाउँछु होइन, म गरिबलाई हटाइदिन्छु। मेरो अगाडि जो गरिब पर्छ त्यसलाई मास्दिन्छु म हटाइदिन्छु भनेपछि गरिबी हट्छ भन्ने गलत सोचबाट यो ग्रसित छ,’ उनले भने। 

सरकारका कतिपय निर्णयहरूको सामाजिक सञ्जालमा प्रशंसा भइरहे पनि प्रतिपक्षको धर्म सस्तो लोकप्रियतामा बहकिने नभई राज्यको ढुकुटी र नीतिमा सबै वर्गको पहुँच सुनिश्चित गराउनु रहेको उनले बताए। 

सभापति थापाले पार्टीका भ्रातृ संगठनहरूलाई आन्तरिक विवाद र नेतृत्वको गन्थन छोडेर जनताको बीचमा जान निर्देशन दिए। थारू संघ, विद्यार्थी संगठन, महिला र दलित संघ जस्ता संस्थाहरूले आ–आफ्नो समुदायको हकहितका लागि गाउँ–गाउँ पुगेर नागरिकको भरोसा जित्नुपर्ने उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad