राजनीति


बजेट महत्वाकांक्षी र कार्यान्वयनमा चुनौतीपूर्ण: राप्रपा प्रमुख सचेतक ओली

बजेट महत्वाकांक्षी र कार्यान्वयनमा चुनौतीपूर्ण: राप्रपा प्रमुख सचेतक ओली

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार २१:५३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी रहेको र यसको कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको टिप्पणी गरेकी छन्।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बजेटले मुलुकको यथार्थ धरातललाई सम्बोधन गर्न नसकेको आशंका व्यक्त गरिन्। प्रमुख सचेतक ओलीले सरकारले आन्तरिक स्रोत परिचालनमा पर्याप्त ध्यान नदिएको भन्दै चिन्ता व्यक्त गरिन्।

वैदेशिक ऋणको तुलनामा आन्तरिक ऋणको ब्याजदर उच्च हुने उल्लेख गर्दै उनले यसले देशको अर्थतन्त्रलाई थप जोखिममा पार्न सक्ने बताइन्। युवा स्वरोजगार, सुकुम्वासी समस्या र शिक्षा क्षेत्रका बारेमा बोल्दै ओलीले सरकारका नीतिहरू पुरानै ढर्राका रहेको आरोप लगाइन्।

श्रम र खेलकुद जस्ता युवाहरूसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा न्युन बजेट विनियोजन गरिएकोमा उनले असन्तुष्टि व्यक्त गरिन्। सुकुम्वासी व्यवस्थापन र सहकारी पीडितका समस्या समाधान गर्ने सरकारको उद्घोष सकारात्मक सुनिए पनि राज्यसँग त्यसका लागि पर्याप्त स्रोत नभएको उनको दाबी छ। 

उनले भनिन्, ‘सरकारले आन्तरिक आय वृद्धि गर्ने ठोस योजना ल्याउन सकेको छैन, जसले गर्दा बजेट कार्यान्वयनमा विश्वासको संकट पैदा हुने देखिन्छ। सडक निर्माणमा भइरहेको लापर्बाही र अनियमितताको गम्भीर अध्ययन हुन जरुरी छ। सडक मर्मतका लागि छुट्याइएको २८ अर्ब रुपैयाँले खाल्डाखुल्डी र धुलोको समस्या समाधान गरी नागरिकलाई राहत दिनुपर्छ।’

पूर्वाधार विकासका सन्दर्भमा ओलीले ‘एशियन हाइवे’ को निर्माण कार्य गुणस्तरहीन र असुरक्षित रहेको टिप्पणी गरिन्। विशेषगरी झापा खण्डमा भइरहेको निर्माण कार्य दिगो नहुने आशंका व्यक्त गरिन्।

यद्यपि, ऊर्जा क्षेत्रमा गरिएको बजेट विनियोजनलाई भने उनले सकारात्मक कदमका रूपमा लिएकी छन्। ऊर्जा क्षेत्रले रोजगारी सिर्जना र आर्थिक विकासमा कस्तो प्रभाव पार्छ भन्ने कुरा सरकारको कार्यक्षमतामा निर्भर रहने उनको भनाइ छ।

झन्डै २२ खर्बको हाराहारीमा रहेको भनिएको यो बजेटको आकार मुलुकको क्षमताभन्दा ठूलो देखिएकाले यसले सर्वसाधारणमा निराशा मात्र थप्न सक्ने चेतावनी समेत उनले दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad