सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै रणनीतिक योजनाहरू अघि सारेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै एआईमा आधारित अर्थतन्त्रको आधार तयार पार्ने तीन ठूला योजना घोषणा गरेका हुन्।
१. स्युचाटारमा देशकै पहिलो 'एआई कम्प्युट केन्द्र' : सरकारले काठमाडौँको स्युचाटारमा देशकै पहिलो एआई कम्प्युट केन्द्र स्थापना गर्ने भएको छ। नेपालको स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने लक्ष्यसहित यो केन्द्र स्थापना गरिनेछ। केन्द्रका लागि हजारौँ एआई प्रोसेसिङ युनिटहरू (जीपीयू) खरिद गरिनेछ, जसले नेपाली स्टार्टअपहरूलाई सहुलियतपूर्ण दरमा उच्च क्षमताको कम्प्युटिङ सुविधा उपलब्ध गराउनेछ।
२. विदेशमा रहेका एआई विज्ञलाई फेलोसिप र नेपाल फिर्ताको योजना : एआई क्षेत्रमा विश्वभर ख्याति कमाएका कम्तीमा १५ जना नेपाली अनुसन्धानकर्ताहरूलाई सरकारले प्रतिष्ठित फेलोसिप प्रदान गर्ने भएको छ। विदेशमा कार्यरत ती विज्ञहरूलाई नेपाल फर्किएर स्वदेशको प्राविधिक विकासमा योगदान गर्न बजेटमार्फत औपचारिक आमन्त्रण गरिएको हो।
३. 'मातृभूमि कोष' मार्फत एआई फ्याक्ट्रीमा लगानी: रणनीतिक महत्त्वका ठूला आयोजनाहरू अघि बढाउन सरकारले 'मातृभूमि कोष' स्थापना गर्ने घोषणा गरेको छ। यो कोषमार्फत देशभित्र 'एआई फ्याक्ट्री' स्थापना गरिनेछ भने कम्तीमा तीन महिनाका लागि इन्धन भण्डारण क्षमता बढाउने जस्ता पूर्वाधारमा लगानी जुटाइने अर्थमन्त्री वाग्लेले घोषणा गरेका छन्।
Shares

प्रतिक्रिया