राजनीति


सरकारले गरिब र गरिबीबिचको आधारभूत भिन्नता नै बुझेन: गगन थापा

सरकारले गरिब र गरिबीबिचको आधारभूत भिन्नता नै बुझेन: गगन थापा

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार १५:५४, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले गरिबी र गरिबबीचको आधारभूत भिन्नता बुझ्न नसक्दा समस्या उत्पन्न भएको बताएका छन्।

उनले सरकारको हस्तक्षेप गरिबी निवारणतर्फ केन्द्रित हुनुपर्नेमा गरिबलाई नै हटाउनेतर्फ मोडिएको भन्दै आलोचना गरेका हुन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले सुकुम्बासी र भूमिहीन नागरिकका समस्यालाई मानवीय दृष्टिले सम्बोधन गर्नुपर्नेमा जोड दिए। सफाइका नाममा मानिसलाई उठिबास लगाउनु गलत भएको उनको भनाइ छ।

सरकारको कार्यशैलीमाथि टिप्पणी गर्दै उनले प्रतिपक्षी दलको हैसियतले सरकारलाई बाटो देखाउनु र सम्झाउनु आफूहरूको कर्तव्य भएको बताए। सुकुम्बासी बस्तीहरूमा सरकारले चलाएको डोजर र विस्थापनको प्रसङ्गलाई जोड्दै थापाले यसले नागरिकमा गम्भीर मनोवैज्ञानिक असर पारेको उल्लेख गरे। 

सभापति थापाले भने, ‘गरिब र गरिबी फरक कुरा हुन्। सरकारले लिनुपर्ने पहलकदमी गरिबीका विरुद्ध हुनुपर्थ्यो, तर गरिबलाई नै विस्थापित गरेर गरिबी हट्छ भन्नु सरकारको भ्रम हो। आफ्नो वासस्थानको टुङ्गो नहुँदा, छोराछोरीको शिक्षा र जीविकोपार्जन अन्योलमा पर्दा मानिसमा तिब्र तनाव, एन्जाइटी र डिप्रेसनको समस्या देखिन थालेको छ। खोला किनारका बस्ती कसैका लागि सामान्य देखिए पनि त्यहाँ बस्नेहरूका लागि त्यो घर हो। रातारात घर भत्काइँदा उनीहरूमा पर्ने मानसिक चोटप्रति राज्य संवेदनशील हुनुपर्छ।’

सभापति थापाले आफ्नो पार्टीका प्रतिनिधिहरूले होल्डिङ सेन्टर र प्रभावित क्षेत्रमा पुगेर गरेको अध्ययनको समेत चर्चा गरे। उनले सरकारी अवरोधका कारण सबै ठाउँमा अध्ययन गर्न सहज नभए पनि उपलब्ध तथ्याङ्कले विस्थापित नागरिकको अवस्था भयावह रहेको संकेत गरेको बताए।

नागरिकका समस्याप्रति सहानुभूति राख्दै उनीहरूको न्यायका लागि उभिनु पार्टीको जिम्मेवारी भएको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad