बहुमतका बलमा सरकार गैरजिम्मेवार हुँदै गएको नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ।
बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री वालेन्द्र शाह जनताप्रति उत्तरदायी नभएको निष्कर्ष निकालेको हो। यससँगै प्रधानमन्त्री शाहले जिम्मेवारीबोध नगरेको पनि कांग्रेसको ठहर छ।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्री शाह संसद्मा नआएको र गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने विषयप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताइन्। यस विषयमा संसदीय दलको बैठकमा पनि छलफल भएको थापाले जानकारी दिइन्।
‘हिजोको अभ्यास हो। उहाँले आफू आउन नसक्ने कारण बताइदिनुपर्ने थियो,’ थापाले भनिन्, ‘अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठीक छैन या म बाहिर जाँदै छु भनेर कारण देखाइदिनुभएको भए हुन्थ्यो।’
यससँगै कांग्रेस बैठकमा जेनजी आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमाथि पनि छलफल भएको छ। आयोगको प्रतिवेदन यथाशिघ्र कार्यान्वयन गर्न कांग्रेसले माग गरेको छ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन। कांग्रेसले कानुनसम्मत हुने प्रक्रियालाई स्वीकार गर्छ,’ उनले भनिन्।
यसअघि कार्की आयोगको प्रतिवेदनलाई लिएर सरकारले ‘स्टन्ट’ गरेको कांग्रेसको भनाइ छ। ‘पहिले समात्ने अनि अनुसन्धान गर्ने जस्तो मिडिया स्टन्ट भन्दा पनि सत्य तथ्य छानबिन गरेर कानुनसम्मत रूपमा अगाडि बढ्नुपर्छ,’ थापाले भनिन्, ‘यदि प्रतिवेदनमा उल्लेख भएका कुराहरू सत्य हुन् भने यसलाई अगाडि बढाउनुपर्छ, यसमा हाम्रो पूर्ण समर्थन रहनेछ।’
कांग्रेस बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा पनि छलफल भएको छ। सत्तापक्ष बहुमतको आधारमा हिँड्न खोजेको कांग्रेसको निष्कर्ष छ।
‘बजेटमा पनि विगतमा राय सुझाव लिएर अगाडि बढिन्थ्यो, निर्णय सरकार पक्षकै हुन्थ्यो, यसमा दुईमत छैन। तर प्रतिपक्षको कुरा पनि सुनिन्थ्यो,’ थापाले भनिन्, ‘अहिले भने प्रतिपक्षले खोजेको जवाफ प्रधानमन्त्रीबाट पाइरहेको अवस्था छैन, जुन आम जनताले पनि पाउनुपर्ने हो।’
Shares

प्रतिक्रिया