पूर्वगृहमन्त्री सुधन गुरुङलाई बयानका लागि छानबिन समितिले पत्राचार गरेको छ। उनीमाथि छानबिन गर्न गठित समितिले बुधबार गुरुङसँग बयान लिने तयारी गरेको समितिका एक सदस्यले जानकारी दिए।
गुरुङसँग बयानका लागि मंगलबारदेखि नै समितिले तयारी गरिरहेको छ।
‘आज त अब धेरै काम भ्याइँदैन होला। स्टक स्चेन्जबाट आएका रिपोर्टहरू, बैंकबाट आएका रिपोर्टहरू, जग्गाका रिपोर्टहरू सबै हेर्दैछौँ। यो सकिएपछि हामी उहाँसँग बयान लिन्छौँ। तर केही रिपोर्टहरू थप माग गर्नु पर्ने देखिएको छ’, समितिका अध्यक्ष अच्युतप्रसाद भण्डारीले नेपालखबरसँग भने, ‘प्रमाण संकलन गर्ने र त्यसको लेखाजोखा गर्ने काम गरिरहेका छौँ। यो सकिएपछि उहाँसँग बस्छौँ।’
गृहमन्त्री हुँदा विवादमा परेका गुरुङमाथि छानबिन गर्न वैशाख २८ गते सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य छन्।
गुरुङले भने वैशाख ९ गते नै गृहमन्त्रीबाट राजीनामा दिएका थिए।
चैत १३ गते गृहमन्त्री भएका गुरुङ सम्पत्ति विवरण सार्वजनिक भएसँगै विवादमा परेका थिए। हदबन्दीभन्दा बढि जग्गा रहेको उनी आफैंले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
यस्तै, पछिल्लो समय अस्वाभाविक सम्पत्ति आर्जन गरेका र हाल हिरासतमा रहेका व्यवसायी दीपक भट्ट संलग्न कम्पनीमा रहेको सेयर पनि संकास्पद देखिएको भन्दै गुरुङमाथि प्रश्न उठेको छ।
समितिले यिनै विषयमा छानबिन गरेर प्रतिवेदन बुझाउने भएको हो।
‘हामीलाई जुन जुन विषयमा छानबिन गर्नु भनिएको छ तिनै विषयमा प्रमाण जुटाइरहेका छौँ। अब प्रमाणमा जे देखिन्छ त्यही रिपोर्ट सरकारलाई बुझाइदिन्छौँ। हामी अरु दायाँ, बायाँ जाँदैनौँ’, समितिका एक सदस्यले भने।
१० दिन पहिले (गत सोमबार) काम थालेको समितिलाई १५ दिन भित्रमा प्रतिवेदन बुझाउन भनिएको छ।
सुधन गुरुङको सम्पत्ति विवरण माग्दै छानबिन समितिद्वारा बैंक, मालपोत र धितोपत्र बोर्डमा पत्राचार
छानबिनबाट ‘क्लिनचिट’ पाए गृहमन्त्री सुधन नै
गृहबाट विरलै फर्किन्छन् बेदाग मन्त्री : चार वर्षमा चौथो दागी बने सुधन
Shares

प्रतिक्रिया