जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको पराजयको समीक्षा सुरु गरेको छ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा शनिबारदेखि केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा निर्वाचन परिणाम, संगठनात्मक अवस्था तथा आगामी राजनीतिक रणनीतिबारे छलफल सुरु भएकाे सो पार्टीले जनाएको छ।
बैठकमा सहभागी केन्द्रीय सदस्य शैलेन्द्र साहका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ एक सिट पनि हासिल गर्न नसकेको र समानुपातिकतर्फ आवश्यक मत नपुग्दा थ्रेसहोल्डसमेत कटाउन नसकेको विषयमा बैठकमा छलफल भएको छ।
नेताहरूले चुनावी हारका कारणबारे विभिन्न धारणा राख्दै पार्टीभित्रका कमजोरीसँगै बाह्य प्रभाव र विदेशी हस्तक्षेपको कारण चुनावमा अपेक्षित नतिजा नआएको दाबी गरेका छन्।
केही केन्द्रीय सदस्यले विगतमा पार्टी नेतृत्वबाट भएका कमजोरी, जनतासँगको सम्बन्ध खुकुलो बन्दै जानु पराजयको कारण भएको बताएका छन्।
त्यससँगै केही नेताहरूले विदेशी शक्तिको प्रभाव र चुनावी प्रक्रियामा राज्य संयन्त्रको भूमिकामाथि समेत प्रश्न गरेका छन्। केही सदस्यले नेपाली सेनाको अनावश्यक सक्रियता देखिएको विषयमा पनि धारणा राखेका साहले बताए।
‘बैठकमा निर्वाचनको समग्र समीक्षा, संगठन पुनर्संरचना, संगठन विस्तार तथा भविष्यको रणनीतिलाई प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिएको छ,’ उनले भने।
पहिलो दिनको बैठकमा केन्द्रीय सदस्यहरु बिनोद सिंह, चन्देश्वर पासमान, मुकेश झा, बलविर नेपाली, अम्बिका काफ्ले, हेम्मा बेलवासे, निलम यादव, चमेली दास तत्मा, पिंकी यादव, शैलेन्द्र साह, उमेश यादव, निर्मला यादव, परमेश्वर साह, रेणु झा, अशेश्वर यादव, रेणु यादव, सबिता यादव, दिपक कार्की, लाक्पा शेर्पा, लिला सिटौला, सिता यादव, रेखा यादव, डा। सुरेन्द्र झा र तारा बिश्वकर्माले आ—आफ्नो धारणा राखेका थिए।
उनीहरूले पार्टीलाई पुनः जनतामाझ स्थापित गर्न स्पष्ट राजनीतिक दिशा, संगठन सुदृढीकरण र नेतृत्व शैलीमा सुधार आवश्यक रहेको जोड दिएका छन्।
केन्द्रीय समिति बैठक दोश्रो दिन आइतबार पनि जारी रहनेछ। दोस्रो दिनको बैठकबाट निर्वाचनमा पार्टी पराजित हुनुका प्रमुख कारणबारे औपचारिक निष्कर्ष निकालिने साहले बताए।

Shares

प्रतिक्रिया