राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिनकुमार आचार्यले घोराहीका बासिन्दाले पानीको मूल किनेको र अब त्यसबाट गाउँसम्म पानी ल्याउन सरकारले आगामी वर्षको बजेटमा योजना राख्नुपर्ने माग गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा बोल्दै सांसद आचार्यले आफ्नो क्षेत्रका बासिन्दाको खानेपानीको समस्या सुनाएका हुन्।
‘दाङको घोराही उपमहानगरपालिका–१३ को मौलाकालिकामा खानेपानीको स्रोत छैन। त्यहाँका बासिन्दाले आफैले पैसा उठाएर छिमेकी रोल्पा जिल्लामा पाँच लाख तिरेर मुल किन्या छन्,’ आचार्यले भने, ‘अब उनीहरू त्यो मूलबाट सरकारले गाउँमा पानी ल्याइदिओस् भनेर कुरेर बसेका छन्।’
उनले घोराही लगायत लुम्बिनी प्रदेशका पहाडी जिल्लामा खानेपानी, सडक, सिंचाइको समस्या रहेको स्मरण गराएका छन्। उनले सबै क्षेत्रका बासिन्दाले बजेटमा प्राथमिकता पाउनुपर्ने माग गरेका छन्।
Shares

प्रतिक्रिया