नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अबको नीति गुट भत्काउने र पार्टी बनाउने हुने बताएका छन्।
सोमबार कांग्रेसको बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले क्रियाशील सदस्यता अद्यावधिक गराउनुपर्नेमा जोड दिए। कांग्रेस सभापति गगन थापालाई विश्वास नगरे पनि वडा सपभातिलाई विश्वास गरेर सदस्यता अद्यावधिक गर्न उनले आग्रह गरे।
‘गगन थापालाई विश्वास नगर्नुस् ठिक छ, तर आफ्नै वडाको पार्टी सभापतिलाई विश्वास गर्नुस्। क्रियाशील सदस्यता अधावधिक गर्ने गगन थापाले होइन, वडा वडामा त्यही वडाका पार्टी सभापतिले गर्ने हो,’ शर्माले भने।
कांग्रेसको १४औँ महाधिवेशनबाटै निर्वाचित पदाधिकारीले क्रियाशील सदस्यता अद्यावधिक गरिरहेको उनको भनाइ थियो। उनीहरूलाई विश्वास गर्नुपर्नेमा उनले जोड दिए।
यस्तै, कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको भनाइको पनि जवाफ दिएका छन्। खड्काले कांग्रेस विभाजनको डिलमा पुगेको बताएका थिए।
त्यसको जवाफमा शर्माले पार्टी विभाजनतर्फन नभई एकीकृत बनाउनतिर काम भइरहेको जिकिर गरे। ‘विशेष महाधिवेशनमा सहभागिलाई मात्रै जिम्मेवारी दिइयो भने विभाजनलाई बल पुग्छ। तर विशेषमा सहभागी नभएकालाई पनि समेटेर क्रमशः जिम्मेवारी दिइँदैछ, थप समेटिनेछ,’ उनले भने, ‘यो गुट भत्काउने पार्टी बनाउने बाटो हो।’
Shares

प्रतिक्रिया