नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको वर्तमान नेतृत्वले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
बुधबार बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै डा. महतले कांग्रेस एकताका लागि नेतृत्वलाई थप जिम्मेवार बन्न आग्रह गरेका छन्। नेता महतले आफूहरू पार्टीमा कुनै पनि किसिमको विग्रह नचाहने र सदैव एकताको पक्षमा रहेको बताएका छन्।
एक पक्षले मात्र निर्वाचित गरेको आधारमा नेतृत्वले स्वेच्छाचारी ढंगले चल्न नहुने उनको भनाइ छ। पार्टीलाई व्यक्ति नभई संस्थाका रूपमा बलियो बनाउने अभियानमा आफूहरू लागेको बताउँदै उनले कुनै पनि दुविधामा नपर्न कार्यकर्तालाई आग्रह गरे।
‘हामी पार्टी एकताको पक्षमा छौँ र कुनै पनि अवस्थामा विग्रह आओस् भन्ने चाहँदैनौँ। तर विशेष अधिवेशनबाट चुनिएर आएको वर्तमान नेतृत्वले सबैलाई मिलाएर लैजाने कानुनी र नैतिक जिम्मेवारी भुल्नु हुँदैन,’ महतले भने।
पार्टी विभाजन गर्ने आफूहरूको कुनै मनसाय नरहेको बताउँदै नेता महतले एकताका लागि नेतृत्वले निश्चित आधार तय गर्नुपर्ने र ती आधारप्रति गम्भीर हुनुपर्नेमा जोड दिए।
‘हामी जे चाहन्छौँ, त्यही मात्र हुन्छ भन्ने सोच राखेर योगदान दिएका अन्य नेता-कार्यकर्ताको अर्थ छैन भन्ने किसिमले अगाडि बढ्नु गलत हुन्छ, यसले पार्टीलाई फाइदा पुर्याउँदैन,’ उनले भने।
१५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सहमतिको ‘साझा संयन्त्र’ निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
Shares

प्रतिक्रिया