राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपालको मौलिकता र प्रविधिलाई जोडेर नयाँ आर्थिक मार्गचित्र बनाउनुपर्ने बताएकी छन्।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद अधिकारीले युवा पलायनका कारण रित्तिएका पहाड र मौन रहेका गाउँबस्तीको पीडादायी अवस्थाको अन्त्य गर्दै रेमिट्यान्सको भरमा मात्रै देश चलाउने सोचबाट माथि उठ्नुपर्ने बताएकी हुन्। उनले सगरमाथाको शीतलता र धर्तीको शान्तिलाई अर्थतन्त्रको बलियो आधारका रुपमा अघि बढाउनुपर्ने प्रस्ताव गरेकी छन्।
‘प्रविधिको यो युगमा विश्वका प्रखर मस्तिष्कहरूलाई डिजिटल नोम्याड भिसा दिएर हाम्रो कला, संस्कृति र चाडपर्वले समृद्ध तराई, मधेस, पहाड र हिमालको विविधतामा रमाइ काम गर्न आकर्षित गरौँ,’ अधिकारीले भनिन्, ‘जब एउटा विदेशी विज्ञ नाम्चेको काख, राराको आँगन र रामारोशनमा बसेर विश्वका लागि सफ्टवेयर बनाउँछ, तब हाम्रा पहाडहरू, हाम्रा बस्तीहरू डिजिटल भिलेज बन्नेछन्।’
सांसद अधिकारीले अब नेपालले ‘वर्क इन नेपाल’ को दायरालाई फराकिलो बनाउँदै विश्वलाई नै ‘वर्क फ्रम नेपाल’को निम्तो दिनुपर्ने बताइन्। प्रविधिको यो युगमा विश्वका प्रखर मस्तिष्कलाई आकर्षित गर्न सरकारले तत्काल डिजिटल नोम्याड भिसा कार्यान्वयन गर्न सुझाइन्। जसले विदेशी विज्ञलाई नेपालको तराई, पहाड र हिमालको विविधतामा रमाउँदै काम गर्ने वातावरण दिने उनको दाबी छ।
‘हाम्रा युवाले आफ्नै आँगनमा बसेर विश्वस्तरको सीप सिक्नेछन्। यसले डलर मात्र ल्याउँदैन सभामुख महोदय, रित्तिएका गाउँहरूमा रौनक र समृद्धिको सञ्चार गर्नेछ। त्यसैले डिजिटल नोम्याड भिसा सरकारले तत्काल कार्यान्वयन गरोस्,’ अधिकारीले भनिन्।
Shares

प्रतिक्रिया