राजनीति


रविको प्रश्न: वरिष्ठलाई नै प्रधानन्यायाधीश बनाउने भए संवैधानिक परिषद किन चाहियो?

रविको प्रश्न: वरिष्ठलाई नै प्रधानन्यायाधीश बनाउने भए संवैधानिक परिषद किन चाहियो?

नेपालखबर
बैशाख २७, २०८३ आइतबार १६:२५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिसको बचाउमा उत्रिएका छन्। बिहीबार बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतको चौथो वरीयतामा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गर्दा परम्परा र विधि मिचेरको भन्ने तर्कको उनले खण्डन गरेका हुन्।

रास्वपा सांसदहरूको प्रशिक्षणका लागि आयोजित कार्यक्रमको समापनमा आइतबार लामिछानेले प्रधानन्यायाधीश सिफारिस असंवैधानिक नभएको बताए। ‘संवैधानिक परिषदको निर्णय असंवैधानिक भयो, न्यायालयको परम्परा यस्तो थिएन भन्ने कुरा आइरहेको छ। म उहाँहरूलाई प्रश्न गर्छु — यो निर्णय कसरी असंवैधानिक भयो?,’ उनको प्रश्न छ। 

सर्वोच्चका ६ जना न्यायाधीश सर्टलिस्ट भएकामा तीमध्ये एक जनालाई चुन्नुपर्ने प्रावधान रहेको र संवैधानिक परिषदले त्यसै अनुसार एक जना चुनेको उनको भनाइ छ। ‘यदि वरिष्ठ न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने हो भने संवैधानिक परिषदको खाँचो नै किन पर्‍योरु सिधै वरिष्ठताका आधारमा नियुक्त गरे भइहाल्यो,’ उनी भन्छन्।

६ जनाको नाम सिफारिस रास्वपाको उपस्थितिमा नभएको र पहिलेदेखि सर्टलिस्ट भएर बसेका नामबाट क्षमता र योग्यताका आधारमा एक जना चुन्ने काम मात्र संवैधानिक परिषदले गरेको लामिछानेले बताए।

‘हाम्रो अगाडि सर्टलिस्टमा रहेका ६ जनाको नाम आइपुग्यो। त्यसमध्ये एउटा छान्नुपर्छ भनेर हामीलाई भनियो। त्यही विधि र संविधान मान्दै हामीले एक जनालाई सिफारिस गर्यौँ। यदि यो विधि गलत हो भने संविधान संशोधनको बहस चलिरहेको छ, यही बेला वरिष्ठताका आधारमा प्रधानन्यायाधीश नियुक्त गर्ने भनी संविधान संशोधन गरौं,’ उनले भने।

न्यायालयको परम्परा अनुसार नै गएको भए परिषद यसपालि पनि राजनीतिक भागबन्डामा अल्झिएर बसेको उनको दाबी छ। ‘परम्परा हेर्ने हो भने त संवैधानिक परिषद अहिले पनि भागबन्डामै अल्झिरहेको हुन्थ्यो। तर हामीलाई भागबन्डामा विश्वास छैन,’ उनले भने।

उनले कार्यवाहक प्रधानन्यायाधीश सपना मल्ललाई इंकित गर्दै न्यायालयको विषयमा धेरै ‘टसल’ गर्ने र चुनौतीपूर्ण अभिव्यक्ति दिएर केही लाभ नहुने बताए। 

‘मेरो कुरा गर्नुहन्छ भने मेरो त गर्धन अझै पनि त्यहीँ छ। त्यस्तै रिस उठेको छ भने चलाइदिनुस् हतियार। होइन भने न्यायालयको प्रतिष्ठालाई सडकको विषय नबनाउनुस्,’ लामिछानेले भने।

संविधानमा लेखिएका अक्षर पुराना दलको भए पनि त्यसको मर्म र भावनालाई आफूहरुले प्रतिनिधित्व गर्ने उनको भनाइ छ। ‘अहिले सरकारले असंवैधानिक काम गर्‍यो, विधि मिच्यो भन्ने कुरा उठाइएको छ। यो संविधान बन्दा राजनीतिक रूपले रास्वपाको उपस्थिति थिएन। तर संविधानमा लेखिएका अक्षर उहाँहरूको भए पनि त्यसको मर्म र भावनालाई हामीले प्रतिनिधित्व गरिरहेका छौं,’ लामिछानेले भने। 

यस्तै उनले भूमिहीन सुकुम्बासीका समस्याबाट आफूले छाती नहटाएको बताए। ‘भूमिहीनहरूको समस्याबाट मैले आफ्नो छाती हटाएको छैन। कसैले पनि भूमिहीनहरूलाई उचाल्न जानैपर्दैन। हामी उहाँहरूलाई अधिकार दिन्छौं। उहाँहरूलाई अधिकार नदिलाएसम्म मेरो छाती हट्नेवाला छैन,’ उनले भने।

आफ्नो पार्टीको कारणले एउटा पनि सुकुम्बासीको घर नठडिएको उनको भनाइ छ। ‘विगतमा उनीहरूलाई भोट बैंकका रूपमा प्रयोग गरिएकाले यो समस्या बल्झिएको हो भन्ने जगजाहेर छ। हामी त यो समस्या समाधान गर्न चाहन्छौं,’ उनले भने। अव्यवस्थित रूपमा र असुरक्षित ढंगले नदी किनारामा बसेका र गैरकानुनी रूपमा सार्वजनिक जग्गा हडपेको अवस्था अहिलेको कदम चालिएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad