ad ad

राजनीति


भद्रगोल क्वारेन्टिन मान्छे थुन्ने र रोग सार्ने थलोः राणा

भद्रगोल क्वारेन्टिन मान्छे थुन्ने र रोग सार्ने थलोः राणा

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ८:३६,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले भद्रगोल र अव्यवस्थाका कारण क्वारेन्टिन मान्छे थुन्ने थलो र रोग सार्ने माध्यम बन्ने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

‘पिउने पानी, खानेबस्ने, सुत्ने र शौचालयसम्म नभएका क्वारेन्टिनहरू अस्तव्यस्त छन्। कोेठामा भीड कोच्ने गरिएकोले मानिसहरू लुकेर घर सुत्न जान्छन्। यस्तो भद्रगोलले क्वारेन्टिनमै रोग सर्ने चिन्ता बढेको छ,’ अध्यक्ष राणाले मंगलबार भने।

कोरोना महामारी सरकारको प्राथमिकतामा नपरेको, आवश्यक तयारी नगरेको भन्दै राणाले सरकारको आलोचना गरेका छन्।

‘उपचार र सावधानी उपाय नभएर क्वारेन्टिन मान्छे थुन्ने थलो, संक्रमणको माध्यम बन्ने जोखिम बढेको छ। झन्डै दुई महिना बन्दाबन्दीका बाबजुद पूर्वतयारी, नीतिगत हस्तक्षेप भएन। क्वारेन्टिनको बेहाल त्यसैको प्रमाण हो,’ उनले ट्वीट गर्दै भने।

‘सरकार नीति तथा कार्यक्रमको बिगूल फुक्दैछ, मधेसका क्वारेन्टिनमा जनता ज्यान गुमाउदैछ,’ राणाले भने ‘सरकार पहिले महामारी प्राथमिकतामा राख, अनिमात्र नीति कार्यक्रमको डिंग हाँक।’

लिम्पियाधुरा समेटेर नक्सा प्रकाशन गर्ने मन्त्रिपरिषद्को पछिल्लो निर्णयलाई भोगचलनको तहसम्म उपलब्धिमूलक बनाउनु पर्ने भन्दै पार्टीगत अडान उनले प्रष्ट पारे।

‘लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको अभिवाज्य भूमि हो। यसमा विद्यमान राष्ट्रिय सहमति कै बलमा नयाँ नक्सा जारी गर्ने निर्णय सकारात्मक छ,’ उनले भने।

‘अब कुटनीतिक पहल निरन्तर राखेर नीतिसम्मत निर्णयलाई व्यवहार र भोगचलनको तहमा उपलब्धिमूलक बनाउनु परेको छ। राप्रपा यसको पक्षपाती छ,’ राणाले जोड दिँदै भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .