नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी एकता कायम राख्न संवादलाई तीव्रता दिएका छन्। सर्वोच्च अदालतबाट वैशाख ४ मा कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद निरूपण भएपछि सभापति थापाले विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूसँग भेटवार्ता गरिरहेका छन्।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट कांग्रेसका नेता तथा कार्यकर्ता विभाजित छन्। विशेष महाधिवेशनबाट सभापति बनेका थापाले नियमित महाधिवेशनको पक्षमा उभिएका नेतालाई समेट्ने कोसिस थालेका हुन्। सभापति थापाले वैशाख ६ गते खड्कालाई पहिलो पटक भेटेका थिए। यस्तै वैशाख १५ मा सभापति थापा र नेता रमेश लेखकबीच भेटवार्ता भएको थियो।
मंगलबार सभापति थापाले नेता डा शेखर कोइरालासँग भेटवार्ता गरेका थिए। विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा उनीहरूबीच पार्टी एकता कायम राख्ने विषयमा एक घण्टा छलफल भएको थियो। सभापति थापासँग सकारात्मक छलफल भएको नेता कोइरालाले आफू निकट नेताहरूलाई ब्रिफिङ गरेका छन्।
बुधबार बिहान भेट्न पुगेका पूर्व सहमहामन्त्री जीवन परियारलाई कोइरालाले भने, ‘गगनसँग कुराकानी राम्रै भएको छ। मैले सबै कुरा भनेको छु। उहाँले सल्लाह गरेर निर्णयमा पुग्छु भन्नुभएको छ।’
कोइरालाले विगतमा पार्टीमा मतभेद आउँदा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले एकताका लागि गरेको प्रयास थापालाई स्मरण गराएका थिए। साथै कोइरालाले विशेष महाधिवेशनबाट आएको कार्यसमितिमा १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई समेटेर लैजान प्रस्ताव अगाडि सारेका छन्।
‘नयाँ कार्यसमितिका सदस्य यथावत नै हुनुहुन्छ। अब पुराना कार्यसमितिको साथीहरूलाई पनि मिलाएर लैजानुहोस्। त्यो वातावरण बनाउनुहोस्,’ कोइरालाको प्रस्ताव थियो, ‘पुरानो कमिटीका कतिपय साथीहरू तपाईंसँग पहिले नै गइसकेका छन्। महाधिवेशनसम्मको कमिटी हो। बाँकी साथीहरूलाई पनि समेटेर लैजानुहोस्।’
आफूसँग जोडिएका र निवर्तमान कार्यवाहक सभापति खड्काको टिमका सबैलाई मिलाउन कोइरालाले सुझाव दिएका थिए।
‘महाधिवेशन आउँदैछ। १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ। तपाईंले नेतृत्व लिँदा त्यो वातावरण बन्छ,’ उनले भनेका थिए।
जवाफमा सभापति थापाले सबैलाई मिलाएर लैजानका सकारात्मक रहेको बताए।
‘साथीहरूसँग सल्लाह गरेर अगाडि बढ्छु। तपाईंको कुरामा म सकारात्मक छु,’ थापाले भने, ‘साथीहरूसँग सल्लाह गरेर त्यही अनुसार कसरी अगाडि बढ्न सकिन्छ म लागिपर्छु।’
मंलगबार कोइरालालाई भेटेका सभापति थापा उपसभापति विश्वप्रकाश शर्मालाई साथमा लिएर बुधबार बिहान खड्का निवास गोल्फुटार पुगेका थिए। उनीहरूबीच बिहान ११ बजेदेखि साढे १२ बजेसम्म भेटवार्ता भएको थियो। खड्कानिकट नेता मीन विश्वकर्माका अनुसार छलफलमा पार्टीभित्रको वर्तमान परिस्थितिबारे समीक्षा भएको थियो। सभापति थापा, उपसभापति शर्मा र नेता खड्काबीच पार्टी मिलाएर जाने कुरामा सैद्धान्तिक सहमति भएको उनको भनाइ छ।
‘के कारणले यो अवस्था आइपुग्यो भनेर दुवै पक्षले दुखेसो पोख्यौँ। पार्टी मिलाएर जाने कुरामा सैद्धान्तिक सहमति भएको छ,’ खड्काको भनाइ उदृधत गर्दै विश्वकर्माले भने, ‘कसरी मिलाएर जाने भनेर भोलि फेरि भेट्ने गरी छलफल सकियो।’
सभापति थापासँग खड्काले पनि विशेष महाविधेशनबाट आएको केन्द्रीय कार्यसमिति र १४औँ महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई एकीकृत बनाउनुपर्ने प्रस्ताव राखेका थिए। दुवै पक्षलाई समेटेर १५औँ महाधिवेशन आयोजक समिति, केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समिति गठन गर्नुपर्ने खड्काको अडान छ। खड्काले विश्वकर्मालाई ब्रिफिङ गरे अनुसार सभापति थापाले उक्त प्रस्तावको वरिपरि सहमति खोज्न सकारात्मक भएको जवाफ दिएका छन्।
‘तपाईंहरूले भनिरहेकै कुराको वरिपरि सहमति खोज्न म सकारात्मक छु। दाइको सहयोग चाहिन्छ। बाहिर गएका साथीहरूलाई समेटेर सानेपामा स्वागत गर्न तयार छु,’ खड्कासँगको भेटमा थापाले भने।
छलफलमा सभापति थापा र उपसभापति शर्माले आलोपालो आफ्नो कुरा राखेका थिए। खड्कासँगको छलफल सकारात्मक र सौहार्द्रपूर्ण रहेको सभापति गगन थापाले पनि नेपालखबरलाई बताए।
‘छलफल सकारात्मक छ। चाँडै सहमतिमा पुग्छौँ,’ उनले भने।
सर्वोच्च अदालतको फैसलापछि नेताहरूले आफ्नो नेतृत्व स्वीकार गरेकोमा सभापति थापा उत्साहित देखिन्छन्।
‘वैशाख ६ मा म भेट्न जाँदा पूर्ण दाइले खादा लगाएर बधाइ दिनुभयो,’ थापाले भने, ‘आज विश्व दाइलाई पनि खाँदा लगाइदिनुभयो। सहमतिका साथ अगाडि बढ्ने कुरा भएको छ।’
संस्थापन पक्ष १४ औँ महाधिवेशनको कार्यसमिति जस्ताको त्यस्तै मिलाउन नसकिने अडानमा छ। खड्का र कोइराला समूहका मुद्दा मामिलामा नमुछिएका नेताहरूलाई केन्द्रीय समिति, कार्यसम्पादन समिति र संसदीय बोर्डमा समेट्न सभापति थापा सकारात्मक छन्। तर, कोइराला र खड्काले १४ औँ महाधिवेशनका सबैलाई समेट्नुपर्ने अडान राखेका छन्।
उपसभापति शर्मानिकट स्रोतले भन्यो, ‘छलफल सकारात्मक भएको छ। आ–आफ्ना केही रिजर्भेसन छन्। त्यो मिलाउन सकिने खालकै छ भनेर दाइले भन्नुभएको छ।’
खड्का र कोइरालाले षड्यन्त्रको भाषा छोड्नुपर्ने सर्त
सभापति थापा र उपसभापति शर्माले आन्तरिक छलफलमा कोइराला र खड्का समूहको अभिव्यक्ति एकताको बाधक बनेको बताउने गरेका छन्। कांग्रेसका एक पदाधिकारीका अनुसार कोइराला र खड्काले विदेशीको षड्यन्त्रमा विशेष महाधिवेशन गरिएको भन्ने भाष्य बनाउँदा मिलेर जान ठूलो समस्या खडा गरेको छ।
‘पार्टीका बहुसंख्यक महाधिवेशन प्रतिनिधिले गरेको निर्णयलाई बाह्य षड्यन्त्र भन्ने भाष्य निर्माण गर्न छोड्नुपर्छ। यसमा हाम्रो गम्भीर आपत्ति छ। नेताहरूले आफ्नो बोलीमा लगाम लगाउनुपर्यो। यस्तो गतिविधि अब बन्द गर्नुपर्छ। मिलेर जानका लागि षड्यन्त्रको भाषा छोड्न सभापतिको सर्त छ,’ ती पदाधिकारी भन्छन्।
सिनियर नेताहरूको सम्मानमा कुनै कमी नराखी मिलेर जान अन्य विषयमा समस्या नरहेको ती पदाधिकारीको भनाइ छ।
‘हामी सँगै जान तयार छौँ। उहाँहरूको यत्रो योगदानले पार्टी बनेको हो। त्यसमा दुई मत छैन। परिस्थिति बदलिएको छ, समय नयाँ कुरा खोजेको छ,’ ती पदाधिकारीले भने, ‘त्यो तहको नेताले यस्तो अभिव्यक्ति दिनुहोला भन्ने कुरा अपेक्षा थिए। सँगै मिलेर जान उहाँको अभिव्यक्ति बाधक भएको छ। अरु सबै कुरामा सभापति अधिकतम लचक हुन तयार हुनुहुन्छ।’
पुस २७–३० मा विशेष महाधिवेशन सम्पन्न भएपछि कोइरालाले गत माघ १ मा विज्ञप्ति जारी गर्दै षडयन्त्रको अनेकन राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिएकाले कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई रोक्न नसकेको बताएका थिए।
‘दृश्यमा देखिएका र नदेखिएका अनेकन अन्तरविरोधबाट हामी यसबीच गुज्रियौँ। राजधानीमा षडयन्त्रको अनेकन राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ,’ विज्ञप्तिमा भनिएको थियो।
सार्वजनिक कार्यक्रममा पनि कोइरालाले कांग्रेस कमजोर बनाउन षड्यन्त्र भएको अभिव्यक्ति दिँदै आएका छन्। यता खड्काले वैशाख १५ र १६ मा विस्तारित बैठक गरेर ११ बुँदे निष्कर्ष निकाल्दै विशेष महाधिवेशन अभियान र गतिविधि नै राष्ट्रिय राजनीतिलाई धमिल्याउने र पार्टीलाई कम्जोर अवस्थामा ल्याउने षडयन्त्रको पहिलो कदम भएको ठहर गरेको छ।
‘राजनीतिक षड्यन्त्रको तानाबानाका झलकहरू सजिलै अनुमान गर्दागर्दै पनि राज्य संयन्त्रका सम्बन्धित निकायहरूमा परेको प्रभावका कारण पार्टी एकता जोगाउन सकिएन र निर्वाचनको संघारमा नेपाली कांग्रेस छिन्नभिन्न हुने इतिहासकै सबैभन्दा ठूलो दर्दनाक अवस्थामो पुग्यो,’ खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
खड्का र कोइरालाले यसरी नै सभापति थापा र शर्मालाई ‘विदेशीको दलाल’ भनिरहँदा मिलेर जान सम्भव नहुने ती पदाधिकारीको भनाइ छ।
Shares

प्रतिक्रिया