राजनीति


‘स्लिपर सेल’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी संगठनको आपत्ति

‘स्लिपर सेल’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी संगठनको आपत्ति

नेपालखबर
बैशाख २२, २०८३ मंगलबार १७:४२, काठमाडौँ

विभिन्न दल निकट १० वटा विद्यार्थी संगठनहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

विद्यार्थी संगठनलाई ‘स्लिपर सेल’ (खुफिया समूह÷जासुस टोली) भनेकोमा विद्यार्थी संगठनहरूले विज्ञप्ति प्रकाशित गरी आपत्ति जनाएका हुन्।

उनीहरूले विद्यार्थी आन्दोलनकै बलमा देशमा राणा शासन, पञ्चायत र राजाको निरंकुश शासन ढलेको स्मरण गर्दै विद्यार्थी आन्दोलन अपराजित रहेको स्मरण गराएका छन्। 

उनीहरूले संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘संघर्ष, आन्दोलन, युद्ध र क्रान्तिको पृष्ठभूमिमा बारम्बार रगतको दाउ लगाएर विद्यार्थी आन्दोलन आजको दिनमा आइपुगेको हो। इतिहासका ती बेग्लाबेग्लै कालखण्डहरूमा विद्यार्थीहरूलाई कहिले जिउँदै रूखमा झुण्डाइयो, कहिले जिउँदै खाल्डोमा पुरियो, हातमा हतकडी र नेल ठोकियो, कयौं साथीहरुले बन्दुकको तातो गोली खानु पर्यो तर विद्यार्थी आन्दोलनले कहिल्यै हारेन। यो अपराजित आन्दोलनको इतिहास हो।’

विद्यार्थीहरूले संगठनलाई अपराधी करार गर्ने, अपमानित गर्ने र इतिहासप्रति मजाक गर्ने प्रधानमन्त्रीको ‘निकृष्ठ कार्य’प्रति भर्त्सना गरेका छन्।

‘प्रधानमन्त्री आफू सार्वजनिक रूपमा प्रस्तुत नहुने, विद्यार्थी संगठनहरूसँग सामान्य संवादसम्म नगर्ने तर कालो कोटामित्र बरोर फेसबुक स्ट्याटस मात्रै शेयर गर्ने गरिरहेका छन्। आज मात्रै उनले सामाजिक संजालमा प्रस्तुत गरेको एउटा स्ट्याटसमा विद्यार्थी संगठनहरूलाई ‘स्लिपर सेल’ जस्तो अपराधिक शब्द प्रयोग गर्दै ती संगठनहरूलाई अपराधी र जासुसी संगठन जस्तो गम्भीर आरोप लगाउने काम गरेका छन्’ उनीहरूले भनेका छन्, ‘ देशका विद्यार्थी संगठनहरूलाई त्यसप्रकारको गम्भीर आरोप लगाउने, अपराधी करार गर्ने, अपमानित गर्ने र इतिहासप्रति मजाक गर्ने प्रधानमन्त्रीको निकृष्ठ कार्यलाई हामी संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट घोर भर्त्सना गर्दछौँ।’

उनीहरूले सरकारको यसप्रकारको विचारसाथी प्रतिबन्ध लगाउने, विरोधी आवाजलाई निस्तेच गर्ने, जंगी र हुकुमी फेसबुके फर्मानहरूद्वारा शासन सञ्चालन गर्न खोज्ने तानाशाही र फासिवादी सोचलाई विद्यार्थी आन्दोलनले किमार्थ सफल हुन नदिने चेतावनी समेत दिएका छन्।

विद्यार्थी आन्दोलनमा कतिपय कमजोरीहरू रहेको स्वीकार गर्दै ती कमजोरी सच्याउनतर्फ अग्रसर रहने पनि उनीहरूको प्रतिवद्धता छ।

विद्यार्थी संगठनहरू खारेज गर्ने घोषणा गरेका प्रधानमन्त्री शाहले आजैमात्र सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनीहरूलाई ‘स्लिपर सेल’ को संज्ञा दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad