नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले जनताको संवैधानिक अधिकार खोस्न लागेको बताएका छन्।
मजदूर आन्दोलनको इतिहास र वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै नेता नेपालले सरकारका पछिल्ला कदमहरू जनविरोधी र मजदुरविरोधी देखिएको टिप्पणी गरे। उनले कार्ल मार्क्सको ‘विश्वका श्रमजीवीहरू एक होऔँ’ भन्ने उद्घोषलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
वर्तमान सरकार गठन भएको १०० दिन पनि पूरा नहुँदै गलत लक्षणहरू देखिएको पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ। सरकारले सुकुम्बासी समस्याको उचित विकल्प नखोजिकन दमन गरेको, ट्रेड युनियन अधिकारमाथि अङ्कुश लगाउन खोजेको र अध्यादेशमार्फत शासन गर्न खोजेकोमा उनले आपत्ति जनाए।
‘देश बनाउने चाहना छ भने त्यो सबैको साझा हुनुपर्छ। तथ्याङ्क नलिई र वैकल्पिक व्यवस्था नगरी सुकुम्बासीलाई हटाउने कार्य जायज छैन,’ नेपालले भने, ‘सरकारले आफ्ना कदमहरू नसच्याए मजदूर वर्गले पुनः सङ्घर्षको नेतृत्व गर्नेछ।’
नेपालको भूराजनीतिक अवस्था संवेदनशिल रहेको उल्लेख गर्दै नेता नेपालले असंलग्न परराष्ट्र नीतिको महत्वमाथि प्रकाश पारे। ‘हामी दुई ठूला छिमेकीको बीचमा छौँ। हामी कुनै पनि सैन्य गठबन्धनमा सामेल हुन सक्दैनौँ र कसैको पुच्छर पनि बन्न सक्दैनौँ,’ नेपालले भने।
उनले प्रतिकूल राजनीतिक अवस्थामा पनि निराश नहुन आग्रह गर्दै गरे। ‘हारपछि जित अवश्य हुन्छ। मजदूर वर्गले समाजका सबै तहका समस्या बुझेर परिवर्तनको नेतृत्व गर्नुपर्छ,’ उनले भने।
देशमा बढ्दो बेरोजगारी र युवाको पलायनप्रति चिन्ता व्यक्त गर्दै उनले शिक्षालाई सीप र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याए।
Shares

प्रतिक्रिया