स्पेनमा बसोबास गर्दै आएका नेपालीले स्थायी बसोबास प्रक्रियाका लागि ‘एक्स्ट्राअर्डिनरी रेगुलेसन’ मा आवेदन दिन समस्या झेल्नुपर्ने भएको छ। गैरकानुनी आप्रवासीलाई कानुनी बसोबासको अनुमति दिनका लागि प्रक्रिया सुरु गरेकै समयमा काठमाडौंस्थित स्पेनको महावणिज्य दूतावासले गर्दै आएको कागजात कानुनीकरण (लिगलाइजेसन) गर्ने काम नयाँ दिल्ली सरेको हो।
बत्तीसपुतलीस्थित महावाणिज्य दूतावास अनुसार अब त्यो काम नयाँ दिल्लीस्थित स्पेनी दूतावासले हेर्नेछ।
स्पेनको आप्रवासन तथा गृह मन्त्रालयको वेबसाइटका अनुसार यो कार्यक्रममा आवेदन दिन कम्तिमा ११ वटा प्रमाणित कागजात पेश गर्नुपर्ने हुन्छ। त्योमध्ये वैवाहिक अवस्था तथा अपराध नगरेको, गैरकानुनी काम गरी दोषी ठहर नभएका भन्ने २ वटा हुन्।
अपराधमा संलग्न भएर/नभएको बारे नेपाल प्रहरीले एउटा रिपोर्ट जारी गर्छ। प्रहरीले दिएको रिपोर्टसहितका अरू कागजातहरु सम्बन्धित देशको स्पेनी नियोगले 'लिगलाइज' गरेपछि मात्र लिखित आवेदनको काम पूरा हुन्छ। प्रक्रिया पूरा गरेका आवेदकहरुसँग काठमाडौंस्थित स्पेनी नियोगमार्फत नयाँ दिल्लीस्थित कन्सुलर कार्यालयका प्रमुखले आवेदकसँग भिडियो कलमार्फत् अन्तर्वार्तामा लिने गरेका थिए।
काठमाडौंबाट हुँदै आएको यो सेवा पछिल्लो समय बन्द गरिएको हो। अब कागजात बोकेर निवेदन दिन दिल्ली जानुपर्नेछ। अन्तर्वाता पनि उहीँ हुनेछ।
‘नेपाली कागजातमा भएका हस्ताक्षरलाई 'लिगलाइज' गर्ने अधिकार र जिम्मेवारी तत्काल अर्को सूचना नआएसम्मका लागि खारेज गरिएकोछ’, नेपालस्थित स्पेनी महावाणिज्य दूतावासले भनेको छ।
‘आवेदकहरुले पेश गर्ने, नेपाली सरकारी नियकाहरुद्वारा जारी गरिएका कागजातहरु लिगलाइज गर्नका लागि भारतको नयाँ दिल्लीस्थित स्पेनको दूतावासको कन्सुलर शाखामा पठाउन अनुरोध गर्दछौँ’, महावणिज्य दूतावासले भनेको छ।
‘एक्स्ट्राअर्डिनरी रेगुलेसन २०२६’ को कार्यक्रम नयाँ प्रवेश गर्नेहरुका लागि होइन। सन् २०२५ डिसेम्बर ३१ भन्दा अगाडि कम्तिमा ५ महिनादेखि निरन्तर स्पेन बस्दै आएका आप्रवासीहरुका लागि मात्र हो। यसमा आवेदन दिने समय आगामी जुन ३० सम्म तोकिएको छ।
मापदण्ड पूरा गर्नेहरु धेरै नेपाली स्पेनमा छन्।
‘एक्स्ट्राअर्डिनरी रेगुलेसन’ कार्यक्रमार्फत् ५ लाख गैरकानुनी आप्रवासीलाई स्पेनले कानुनी मान्यता दिँदैछ।

Shares

प्रतिक्रिया