महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट परेका छन् भने बिहीबार पेसी तोकिएको छ।
बुधबार महान्यायाधिवक्ताको नियुक्तिविरुद्ध तीन रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए। नवनियुक्त महान्यायाधिवक्ताको योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर भएको कोइरालाले बताए।
अधिवक्ता माधव बस्नेत, दिपकराज जोशीलगायतले रिट दायर गरेका हुन्। उनीहरूले महान्यायाधिवक्ता डा. कँडेलको योग्य नभएको जिकिर गरेका छन्।
महान्यायाधिवक्ता जस्तो पदमा अयोग्य व्यक्ति नियुक्त हुनु गलत भएको उनीहरूको भनाइ छ। तीनै रिटमा अयोग्य व्यक्ति भएकाले कारकारबाही रोक्न आदेश माग गरिएको छ।
तीन वटै रिटमा बिहीबार पेसी तोकिएको सर्वोच्चका प्रवक्ता कोइरालाले बताए।
प्रधानमन्त्री बालेन्द्र शाहले गत चैत २२ गते डा. कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए। सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई प्रधानमन्त्रीले महान्यायाधिवक्ता नियुक्त गर्न पाउने संवैधानिक व्यवस्था छ।
सर्वोच्च अदालतका न्यायाधीश सरहको महान्यायाधिवक्ताका लागि कम्तिमा १५ वर्ष निरन्तर वकालत गरेको हुनुपर्छ। तर महान्यायाधिवक्ता डा. कँडेलले निरन्तर वकालत गरेको अनुभव नभएको रिटमा दाबी गरिएको छ।
Shares

प्रतिक्रिया