नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरू सत्तामा रहँदा गरेको कमजोरी र विकृतिको सजाय जनताले निर्वाचनमार्फत दिएको बताएका छन्।
नेकपाको स्थापना दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनताले सुध्रिने अवसर दिएको बताए। सत्तामा रहँदा पार्टीभित्र फोहोर थुप्रिँदै गएको उनको भनाइ थियो।
‘अहिले क्षणिक रुपमा कम्युनिस्ट आन्दोलनले धक्का खाएको देखिएको छ, त्यसबाट हामीले शिक्षा लिनुपर्छ,’ प्रचण्डले भने, ‘यी धक्काहरू जो खाइन्छ, बेलाबेलामा। ती हामीभित्र जम्मा भएका फोहोर मैला सफा गर्ने अवसर पनि हो।’
जनताले घृणा गरेको नभई फोहोर जम्मा भएकोले नुहाईधुवाई गरेर फर्कन सवक सिकाएको उनले बताए। ‘सायद हामी सत्तामा बस्दा, कुर्सीमा बस्दाबस्दा धेरै फोहोरहरू हामीभित्र जम्मा हुँदै गएको थियो। अहिले जनताले हामीलाई घृणा गरेको होइन, जनताले हामीलाई नुहाईधुवाई गरेर आउ भनेर सवक सिकाएको हो,’ प्रचण्डले भने।
हाल देखिएको राजनीतिक धक्कालाई गम्भिर आत्मसमीक्षा गरेर सुधारको अवसरका रूपमा लिनुपर्ने उनले बताए। यी अनुभवबाट पाठ सिकेर अगाडि बढ्न सके कम्युनिस्ट आन्दोलन अझ सुदृढ हुने प्रचण्डको भनाइ थियो। ‘हामीले फोहोरमैला सफा गर्ने अवसर र त्यसलाई सुधार गर्ने अवसरको रुपमा पनि यसलाई लिनुपर्छ,’ उनले भने।
उनले कम्युनिस्टहरूमा गल्ती स्वीकार गर्ने र सुर्धान सक्ने क्षमता रहेको बताए।
Shares

प्रतिक्रिया