नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा बुधबार बिराटनगरमा भइरहेको छ। पार्टी सभापति गगन थापा समीक्षा कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका छन्।
पार्टी सहमहामन्त्री डिला संग्रौलाका अनुसार करिब ११ बजे सभापति थपा बिराटनगर पुगेका हुन्। प्रदेशस्तरीय संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा पार्टीका कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, संघीय तथा प्रदेश सांसद, जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरू तथा अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता हुनेछ।
कांग्रेसले पछिल्लो समय विभिन्न प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम गर्दै आएको छ। यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेश प्रदेशमा यस्तै समीक्षा बैठक सम्पन्न गरिसकेको पार्टीले आज बुधबार कोशी प्रदेशमा आन्तरिक छलफल गर्न लागेको हो।
पार्टी नेतृत्वले समीक्षा कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश तहसम्म संगठनको अवस्था, चुनावी परिणाम, कमजोरी र सुधारका सम्भावनाबारे प्रत्यक्ष सुझाव संकलन गर्नेछ। आगामी राजनीतिक रणनीति, संगठन विस्तार, क्रियाशील सदस्यता, १५ औँ महाधिवेशनको तयारी र कार्यकर्ताको सक्रियता बढाउने विषयमा समेत व्यापक छलफल हुनेछ।
काँग्रेसको कोशी प्रदेशको नेतृत्व व्यवस्थापन तथा संगठन सुदृढीकरणका विषयमा पनि बैठकमा प्राथमिकताका साथ छलफल हुने सहमहामन्त्री संग्रौलाले जानकारी दिइन्।
Shares

प्रतिक्रिया