सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारी र जमानीहरूलाई आफूले लिएको ऋण १५ दिनभित्र चुक्ता गर्न भनेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार सूचना जारी गर्दै ऋण चुक्ता गर्न भनेको हो। तोकिएको समयमा ऋण चुक्ता नगरेमा ऋणी तथा जमानीको समेत सम्पत्ति रोक्कादेखि धितो लिलाम गर्नेसम्मको चेतावनी दिइएको छ।
सूचनामा भनिएको छ, ‘ऋणीहरूलाई पटक पटक जानकारी गराउँदा पनि हालसम्म ऋण चुक्ता गर्न बाँकी रहेका ऋणीहरूले बुझाउनुपर्ने ऋणको साँवा, व्याज तथा हर्जानासमेत नबुझाएको हुँदा यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध) दिनभित्र यस समितिको कार्यालय बुद्धनगर, काठमाडौँमा सम्पर्क गरी आफ्नो हरहिसाब लिई रकम बुझाउनका लागि यो सूचना प्रकाशन गरिएको छ।’
१५ दिनभित्र ऋण फरफारक नगरेमा ऋणी, निजको परिवार र जमानीको नाम नामेसीसहितको विवरण सार्वजनिक गर्ने र उनीहरूको नाममा रहेको सम्पत्ति तथा खाता रोक्का गर्ने भनिएको छ।
ऋण नतिर्ने व्यक्तिहरूको सार्वजनिक सेवा सुविधासमेत रोक्का गर्ने र कर्जा लिँदा राखिएको धितो लिलाम गर्ने सूचनामा उल्लेख छ। ‘उल्लेखित मितिभित्र पनि ऋण फरफारक नगरेमा ऋणीहरूको नाम नामेसीसहितको विवरण सार्वजनिक गर्ने, ऋणी तथा निजका परिवार र जमानीको सम्पत्ति र खाताका साथै सार्वजनिक सेवा सुविधा रोक्काका लागि सम्बन्धित निकायमा लेखी पठाउनू,’ सूचनामा भनिएको छ।
त्यसरी ऋण नतिर्ने व्यक्तिबाट सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ बमोजिम कर्जा लिँदा लेखिदिएको धितो लिलाम बिक्री वा अन्य व्यवस्था गरी सहकारी संस्थाले लिनुपर्ने सम्पूर्ण रकम असुल गर्ने भनिएको छ।

Shares

प्रतिक्रिया