नेपाली कांग्रेसका सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भएको भेटवार्ताले कांग्रेसमा देखिएको तीन महिना लामो संवादहीनता तोडिएको छ। आइतबार साँझ सभापति थापा खड्कालाई भेट्न उनको निवास गोल्फुटार पुगेका थिए।
पार्टी एकताका विषयमा थापा र खड्काबीच एक घण्टा संवाद भएको थियो। सभापति थापाले पार्टीमा देखिएका बेमेल हटाएर एकताका लागि पहल गर्न सुरु भएको बताए।
‘पार्टीको बृहत्तर एकताका लागि सिनियर नेतासँग संवाद सुरु गरेको छु,’ थापाले भने, ‘पार्टीलाई एकताबद्ध बनाएर १५औँ महाधिवेशनमा लैजाने मेरो प्रयास रहन्छ। पार्टीका सिनियर नेताले त्यसमा सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ।’
माघ २ गते थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा र खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्च अदालतले शुक्रबार आयोगको निर्णयलाई सदर गर्दै दायर गरिएको रिट खारेज गरेपछि सभापति थापाले संवाद सुरु गरेका हुन्।
खड्कानिकट नेता रामहरि खतिवडाले आइतबार थापा र खड्काबीचको भेटवार्तालाई आइसब्रेकको रूपमा व्याख्या गरे।
‘सभापति र पूर्व कार्यवाहक सभापतिको भेटवार्ताले आइसब्रेक भएको छ। अब पार्टी एकताबद्ध भएर अगाडि जान्छ,’ उनले भने।
नेतागत समूहभन्दा अहिले सबै कांग्रेस हुनुपर्ने आवश्यकता देखिएको भन्दै थापा र खड्काबीच पार्टी एकताबद्ध बनाएर जाने विषयमा कुरा भएको उनको भनाइ छ।
‘हिजो उहाँ (गगन थापा) महामन्त्री भएर काम गर्नुभएकाले पार्टीमा कहाँ कमजोरी छन्, कहाँ के गर्नुपर्छ, सबै छिद्र थाहा छ,’ उनले भने, ‘पार्टीमा आमूल सुधार गर्नुहुन्छ भन्ने विश्वास हामीलाई छ। पार्टी एकताका लागि सभापतिले सबै पक्षसँग कुरा गर्दा राम्रो हुन्छ।’
सभापति थापा, खड्का र नेता शेखर कोइरालाबीच छलफल हुन आवश्यक देखिएको उनको भनाइ छ।
यता सभापति थापाले नेता डा शेखर कोइरालालाई भेट्ने तयारीमा छन्। कांग्रेस महामन्त्री प्रदीप पौडेलले स्पष्टीकरण फिर्ताको प्रक्रिया र संवाद अगाडि बढिसकेको बताए।
‘अब उक्त स्पष्टीकरणको औचित्य समाप्त भएको छ, त्यसलाई निष्क्रिय भएको छ,’ पौडेलले भने, ‘सभापतिले संवाद सुरु गर्नुभएको छ। सबै सिनियर नेतालाई मिलाएर लैजान सभापति अग्रसर हुनु भएको छ।’
अदालतको फैसला आउनुअघि खड्काले कार्यवाहक सभापतिका रुपमा पार्टीको ‘लेटरहेड’ दुरुपयोग गर्दै समानान्तर गतिविधि चलाएको आरोपमा कांग्रेसको अनुशासन समितिले वैशाख २ गते स्पष्टीकरण सोधेको थियो। अदालतको फैसलापछि उनको कार्यवाहक सभापतिको हैसियत समाप्त भएको छ।
आफ्नो सामाजिक सञ्जालमा पनि खड्काले ‘पूर्व कार्यवाहक सभापति’ भनेर राखेका छन्। खड्का पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै पार्टी एकताका लागि सभापति थापा जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको थियो। आइतबारको संवादमा खड्काले पार्टी एकताको वातावरण बनाउन आग्रह गरेको महामन्त्री पौडेलले बताए।
खड्काले १५औँ महाधिवेशन निष्पक्ष, स्वतन्त्र रूपमा हुने सुनिश्चितता खोजेका छन्। एकताका लागि महाधिवेशन निष्पक्ष हुने सुनिश्चितता सभापति थापाले गराउनुपर्ने खड्काको सर्त छ।
सभापति थापाले पार्टीलाई एकताबद्ध राख्न सबै पक्षसँग छलफल गरेर एउटा निष्कर्षमा पुग्ने बताएका छन्।
गत पुस १८ मा तत्कालीन कार्यवाहक सभापति खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकले यही वैशाख २८ देखि ३१ का लागि १५औँ महाधिवेशनको कार्यतालिका ल्याएको थियो। पुस २७–२९ मा सम्पन्न विशेष महाधिवेशनबाट चयन भएको थापा नेतृत्वको कार्यसमितिले आगामी असोज १६–१९ का लागि महाधिवेशनको कार्यतालिका घोषणा गरेको छ।
असोज १६–१९ का लागि निर्धारित महाधिवेशनको कार्यतालिका संशोधन गरी सबै पक्षको सहभागितामा नयाँ मिति तोक्न खड्काको माग छ। यसमा सभापति थापा सकारात्मक देखिएका छन्। नेताहरूको व्यवस्थापनका विषयमा खड्काले समूहगत रूपमा सौदा हुनुपर्ने संकेत गरेका छन्।
एक नेताले भने, ‘उहाँहरूको कुरा समूहगत रूपमा डिल हुनुपर्छ भन्ने छ। सभापति पार्टीमा एकताको सन्देश दिने गरी अगाडि बढ्ने सोचमा हुनुहुन्छ। तर, गुटगत भागबण्डा नगर्ने भनिराख्नु भएको छ। हिजोको छलफल आइसब्रेक मात्रै हो। चाँडै अब ठोस रूपमा छलफल हुन्छ।’
सभापति थापाले कार्यसमिति बाहिर रहेका शीर्ष नेतालाई समेट्ने तयारी अगाडि बढाएका छन्। २७–२९ पुसमा सम्पन्न विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो। महाधिवेशनका लागि बन्ने समितिमा पनि सबै पक्षलाई समेट्ने कुरा हुन्छ।
‘पहिले जसरी शेरबहादुर देउवाले आफू संस्थापन भएर चलाउनुहुन्थ्यो, अहिले हामीले पनि त्यही मोडालिटी अपनाउँछौँ। स्वाभाविक कुरा पनि त्यही हुन्छ,’ ती पदाधिकारीले भने।
Shares

प्रतिक्रिया