प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सबै दलबाट निर्वाचित समानुपातिक सांसदहरूसँग छलफल गरेका छन्।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले समानुपातिक सांसदहरूसँग छलफल गरेका हुन्।
कार्यक्रममा सांसदहरूले आफ्ना क्षेत्र तथा समुदायका समस्या र समाधानका उपायबारे धारणा राखेका थिए।
कार्यक्रमपछि राष्ट्रिय प्रजातन्त्र पार्टीकी समानुपातिक सांसद खुस्बु ओलीले मनसुनको समयमा हुने आकस्मिक नदी कटान प्रमुख समस्या रहेको बताइन्।
आफूले प्रधानमन्त्रीसमक्ष राखेको विषयबारे उनले भनिन्, ‘मनसुनको समयमा आकस्मिक नदी कटान समस्या छ। त्यो जिल्ला तटबन्धहरुसँग सिमित स्रोतसाधन मात्र हुने तर आकस्मिकको लागि बजेट नहुने कारणले गर्दाखेरि यो बीच समयमा आएको बाढीले सिर्जना गरेको रिस्कलाई तटबन्ध गर्नको लागि यो कुरा प्रधानमन्त्री समक्ष राखेको छु।’
यस्तै, नेकपा (एमाले) की सांसद पद्मा अर्यालले विकासलाई प्रभावकारी रूपमा अगाडि बढाउने उपाय तथा नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा छलफल भएको जानकारी दिइन्।
उनले भनिन्, ‘बैठकमा सहभागी सांसदहरुले आफ्ना समुदायका मुद्दाका साथमा आफूलाई लागेका केही कुराहरु राख्नु भएको थियो। प्रधानमन्त्रीले एजेण्डा तोक्नु भएको थियो। त्यसमा हामीले विकासलाई कसरी अगाडि बढाउँदा ठीक होला, नीति कार्यक्रममा कस्ता खालका कार्यक्रमहरु ल्याउँदा ठीक हुन्छ भन्ने कुराहरु गरेँ।’
छलफलका क्रममा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपाय प्रत्यक्ष रूपमा प्रस्तुत गरेका थिए।
यसअघि प्रधानमन्त्री शाहले प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभाका सांसदहरूसँग प्रदेशअनुसार भेटघाट तथा छलफल गरिसकेका छन्।
Shares

प्रतिक्रिया