नेपाली कांग्रेसका सभापति गगनकुमार थापा मान्छेलाई हियाउँदैनन् तर हुँकार गर्छन् नै! शाही शासनकालमा राजाविरुद्धको हुँकारले उनको राजनीतिक आयातन त बढायो नै, चुनौती पनि थपिदियो।
मातृ पार्टी नेपाली कांग्रेस राजतन्त्रकै एजेन्डामा रहँदा विद्यार्थी नेताका रूपमा विद्रोह गरेपछि उनी तत्कालीन संस्थापन र शक्तिशाली सभापति गिरिजाप्रसाद कोइरालाको आँखी बने।
तर समय, राजाको रबैया र अरू बागीको सहयोगले त्यो चुनौती अवसरमा बदलियो। नेपाली कांग्रेस आफैँ संवैधानिक राजतन्त्रको ‘बागी’ बन्यो। बागी आवाजलाई सभापति गिरिजाबाबुले स्वीकार्ने परिस्थिति बन्दा युवा गगन एकाएक कांग्रेसको ‘युवा आइकन’ बने।
२०६४ सालको संविधानसभा चुनावमा गिरिजाप्रसाद कोइरालाजस्तै देश दौडाहामा निस्कने नेता भए। सुनिने र वाहवाही पाउनेमा उनले गिरिजाप्रसादलाई उछिने।
समानुपातिकबाट संविधानसभा सदस्य बन्ने ऐतिहासिक अवसर पाए। तर्कसंगत वाणी र दृढतापूर्ण हुँकारले विपक्षीलाई हायलकायल पारे।
त्यसपछि गगनले पछाडि फर्कनुपरेन। नेपालको राजनीतिको केन्द्रमा स्थापित भए, बौद्धिक जमातबाट प्रशंसा पाए।
कांग्रेस सत्तामा हुँदा स्वास्थ्यमन्त्री वा सत्ता सञ्चालनको 'हाइकमान्ड'जस्ता पदलाई बिर्सेर कांग्रेसको आन्तरिक जीवनतिर मात्र हेर्दा उनी सधैँ बागी देखिए/सुनिए।
बगावतको अन्तिम (किनकि सभापतिका रूपमा उनी विद्रोह हैन, सम्हाल्ने भूमिकामा छन्) धक्का दिँदा उनलाई नेविसंघमा आफ्ना अग्रज विश्वप्रकाश शर्मा, देवराज चालिसे, अनुज प्रदीप पौडेलगायतको साथ मिल्यो।
शक्तिशाली सभापति शेरबहादुर देउवालाई गएको पुसमा भएको महाधिवेशनबाट पाखा लगाएपछि देशकै पुरानो पार्टी कांग्रेसको सभापति बने।
निर्वाचन आयोगले दिएको आधिकारिकतासँगै हतारमा प्रतिनिधिसभा चुनावमा कांग्रेसका तर्फबाट उम्मेदवार सिफारिस गर्ने अवस्थामा पुगे।
टिकट वितरणका क्रममा उनले ‘अन्याय’ गरेनन्, कतिसम्म भने आफ्नो खेमामा नरहेका नेता शेखर कोइरालादेखि निवर्तमान सभापति शेरबहादुर देउवाका भित्रियासम्मलाई बिना हिचकिचाहट टिकट दिए।
असन्तुष्टि स्वाभाविक थियो तर टिकट बिक्रीको ‘दुकान’ नचलाएकामा उनको प्रशंसै भयो।
नेपाली कांग्रेसको विधानले विशेष महाधिवेशनको व्यवस्था गरेको छ। भदौ २३-२४ को जेनजी आन्दोलनको मर्मलाई अंगीकार गर्दै पुरानो संस्थापनले १५औँ नियमित महाधिवेशन आह्वान गरिदिएको भए, कुरै खत्तम हुन्थ्यो।
तर, विशेष महाधिवेशन कि नियमित भन्नेमै कांग्रेसले लामो समय खर्चियो। अन्ततः गगनहरू अगाडि बढे। विशेष महाधिवेशन सम्पन्न भयो।
गगनले आफ्नो नेतृत्वलाई ‘बदलिएको कांग्रेस’का रूपमा ब्रान्डिङ गरे। देश बदल्ने हिम्मत भएको सन्देश प्रवाह गरे। तर, उनी ढिला भए। जनताको मन अर्कैतिर मोडिएको उनले सायद पत्तै पाएनन्।
‘अबकी बार, गगन सरकार’ वा ‘अबकी बार, सय पार’को नारासहितको कांग्रेसलाई जनताले पत्याएनन्। प्रत्यक्षमा १८ र समानुपातिकतर्फ २० सांसद पाउने हैसियतमा खुम्च्याइदिए।
गण्डकी प्रदेशमा हिमालपारिका जिल्ला मनाङ र मुस्ताङले कांग्रेसको शाख जोगाइदिए। त्यहाँ प्राप्त समानुपातिक मत पनि कांग्रेसलाई झस्काउने खालकै किन नहोस्! कतिसम्म भने स्वयं गगन सर्लाही-४ मा नराम्रोसँग हारे।
शीर्ष नेतृत्व नै अस्वीकृत हुँदाको अपजस स्वाभाविक रूपले गगनकै टाउकोमा आइपुग्यो। उनले पराजयको नैतिक जिम्मेवारीसहित सभापति पदबाट राजीनामा घोषणा पनि गरे।
तर त्यो राजीनामा स्वीकृत हुने खालको हैन भन्ने आम कांग्रेसीले मात्र नभएर राजनीतिप्रति चासो राख्ने सामान्य नागरिकले पनि बुझेका थिए। अन्ततः केन्द्रीय समितिको बैठकले त्यही गर्यो।
सानो विषयमा पनि प्रतिक्रिया जनाउने सभापति गगन त्यसपछि भने मौन रहे। लामो मौनतापछि चैत २५ गते मधेस प्रदेशको चुनावी समीक्षा कार्यक्रममा झुल्किए। अरू बेला आगो ओकल्ने गगन त्यहाँ पनि खासै मुखरित देखिएनन्।
समीक्षाकै क्रममा चैत २७ गते शुक्रबार पोखरामा आयोजित कार्यक्रममा पनि उनी रक्षात्मक सुनिए।
‘म पार्टी सभापतिको जिम्मेवारीमा छु, सबैभन्दा बढी लचक र सबैलाई मिसाउने कोसिस गर्छु। पार्टीलाई मिलाउनु छ, अधिवेशन गर्नुपर्छ। पार्टीमा एकता र अनुशासनको आवश्यकता छ,’ सभापति थापाले आफू चिन्तामा नरहेको र चिन्तनमै रहेको जिकिर गर्दै दार्शनिक भावमा भने, ‘चिन्ता र चिन्तनको बिचमा एकदमै थारै मात्र फरक हुन्छ। चिन्ता डरसँग जोडिएको हुन्छ। चिन्ता अलिकति प्रतिक्रियासँग जोडिएको हुन्छ। चिन्तन अलि बढी आत्मसमीक्षासँग जोडिएको हुन्छ। विश्लेषणसँग जोडिएको हुन्छ। मचाहिँ अलि बढी चिन्तनमा छु।’
जिम्मेवारीको भार त उनले माघ १ गते नै थामिसकेका थिए। सभापति हुनु भनेको प्रश्न गर्ने हैन, जवाफ दिने पद हो भन्ने महसुस त महामन्त्री हुँदै ठम्याएका हुँदा हुन्।
आखिर किन चिन्तन गर्ने अवस्थामा पुगे त गगन?
यसका केही कारण छन्-
नेपाली कांग्रेस २०४६ सालपछि सम्भवत: पहिलोपटक सबैभन्दा संकटपूर्ण अवस्थामा छ।
नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्वकर्ता र परिवर्तनको मुख्य सारथि यो पार्टी यतिबेला आन्तरिक र बाह्य दुवै किसिमले कमजोर भएको छ।
गएको फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावले यसलाई संसद्मा कमजोर प्रतिपक्षीको बेन्च दिलाएको छ।
आफूलाई लोकतन्त्रको पहरेदार ठान्ने यो पार्टीको हैसियत कति खुम्चेको छ भने २०६७ सालमा तत्कालीन संसदीय दलका नेता रामचन्द्र पौडेललाई १७ पटकसम्म प्रधानमन्त्रीमा प्रतिस्पर्धा गराएको कांग्रेसले अहिलेको संसद्मा सभामुख र उपसभामुखमा उम्मेदवारी दिने उत्साह नै देखाएन।
बरु उपसभामुखमा अस्ति भर्खर जन्मिएको श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्यो।
लोकतन्त्रमा हारलाई पनि जित मानिन्छ। हार्छु भन्ने जान्दाजान्दै पनि मैदान खाली नराख्नु लोकतन्त्रको सुन्दर पक्ष हो।
फागुन २१ कै चुनावमा पनि कांग्रेसले निश्चित हारको आकलन गरेका केही निर्वाचन क्षेत्रमा त्यसरी नै उम्मेदवारी दिएको थियो। महिलालाई अगाडि सारिएको विषयलाई भने अहिले छाडौँ।
कांग्रेस साँच्चै गलेको छ। गल्नुको कारण चुनावी हार मात्र नभएर आन्तरिक कारण पनि छ। गगन सभापति हुनुलाई कांग्रेसको हिजोको संस्थापनले ‘अवैधानिक’ करार गरिरहेको छ।
यो मुद्दा अदालतमा विचाराधीन छ। कांग्रेसभित्रको त्यो खेमाले अदालतबाट विशेष महाधिवेशन अवैध ठहर होस् भन्ने कामना मात्र गरेको छैन, भित्रभित्रै गगनविरुद्ध अभियान पनि चलाइरहेको छ।
सो समूहका नेताहरू वर्तमान संस्थापन लचिलो बन्नुपर्ने र सबैलाई समेटेर लैजानुपर्ने बताइरहेका छन् भने परिआए नयाँ पार्टी गठनसम्मको तयारी छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका निवर्तमान सभापति शेरबहादुर देउवामाथि सम्पत्ति शुद्धीकरणको अभियोग लागेर मात्र हो, नत्र यो समूहले गगनविरुद्ध जेहाद छेड्ने तयारी गरिरहेको कांग्रेसीहरू स्वीकार्छन्।
आउँदो भदौ २४२७ का लागि घोषित १५औँ महाधिवेशन हुनै नदिने र कथंकदाचित हुने अवस्था आउँदा गगनहरूलाई पाखा लगाउने गरी शक्ति आर्जन गर्ने मनसुवाबाट परिलक्षित यो समूहले अहिले संसदीय दललाई पहिलो प्राथमिकता दिइरहेको छ।
संसद्मा रहेका ३८ जना सांसदमध्ये समानुपातिकतर्फका अधिकांश शेरबहादुर देउवा–शेखर कोइराला समूहका छन्। देउवा–कोइराला एकै ठाउँमा उभिनुको अर्थ हो- संसदीय दलमै गगनविरद्ध धावा बोल्नु।
संसदीय दलको नेता आफ्नो समूहको हुँदा र त्यहाँ बहुमत सिद्ध हुँदा पार्टी नै कब्जा गर्न सकिने र नयाँ पार्टी बनाए पनि सोझै संसद्मा प्रवेश पाउने अवस्थाबारे सो समूह जानकार छ। त्यो योजनाले गगन तनावमा छन्। त्यही कारण कांग्रेसले संसदीय दलको नेता छान्न सकेको छैन।
अहिले संसदीय दलको नेतामा नाताले गगनका ससुरा पर्ने अर्जुननरसिंह केसीलाई उचाल्ने पनि त्यही समूह भएको गगनपक्षीय नेताहरूको बुझाइ छ।
संसदीय दलको नेता त जसोतसो चुनिएलान् तर त्यसपछिको बाटो पनि गगनका निम्ति सजिलो छैन। हारका कारण गगन यतिबेला एक्लै अगाडि बढ्छु भन्ने अवस्थामा छैनन्। सभापतिका रूपमा उनले पार्टीमा सबैलाई समेट्छु भन्नुपर्ने बाध्यता छ।
गगन अहिले पार्टीको आन्तरिक जीवनमा आएको हलचल, विशेष महाधिवेशनको आयोजना र हिजोको संस्थापन पक्षले गरेको असहयोग, विशेष महाविधेनविरुद्ध अदालतमा विचाराधीन मुद्दा र आउँदो १५औँ महाधिवेशनबारे गम्भीर ढंगले सोचिरहेका छन्।
पार्टीमा सबैलाई मिलाएर लैजान्छु भन्ने उनको अभिव्यक्ति त्यसैको परिणाम हो। यद्यपि पार्टी कार्यकर्तालाई उनले एकता र अनुशासनको आवश्यकता रहेको सुनाउन भुलेनन्।
एकता र अनुशासनकै आधारमा २०८३ सालमा पार्टीलाई रिब्रान्डिङ गर्ने बताइरहँदा सभापति गगनले असन्तुष्टलाई कसरी समेट्ने भन्ने स्पष्ट धारणा पेस गरेनन्। न त उनले यसअघिजस्तो पार्टीभित्रै रहेर पनि पार्टी हितविपरीत काम गर्नेहरूविरुद्ध आक्षेप नै लगाए।
बरु उनले आउँदै गरेको २०८४ को प्रदेश र स्थानीय तहको चुनावको कुरा गर्दै शक्ति आर्जनको लालसा देखाए।
‘हामी कमजोर, डिफेन्सिभ हुनुपर्ने जरुरी छैन। यो आत्मरक्षा, आत्मनिन्दाको समय होइन, आत्मसमीक्षाको समय हो। समीक्षा गरौँ, नयाँ कुराहरू खोजौँ,’ उनले भने, ‘यसकै आधारमा हामीले ०८३ सालमा कांग्रेसलाई रिब्रान्डिङ गर्छौँ, पुनर्संरचना पनि गर्छौँ, कांग्रेसको मूल्य र मान्यतामा टेकेर पुनर्परिभाषित पनि गर्छौँ। यसलाई नवीकरण पनि गर्छौँ। २०८४ सालमा हुने स्थानीय र प्रदेशको चुनावमा फेरि पहिलो पार्टी बनाउने गरि हामीले २०८३ मा मेहनत गर्छौं, दु:ख गर्छौँ, पार्टीलाई ठिक ठाउँमा लैजान सबैको साथ रहन्छ भन्ने विश्वास छ।’
सर्वोच्च अदालतबाट प्रतिकूल फैसला आएन भने र आउँदो भदौको अन्तिम साता हुने १५औँ महाधिवेशनमार्फत सभापति पदमा निर्वाचित हुने आशा गगनलाई छ।
पुरानो संस्थापनलाई मिलाउँदा आफूमाथि चुनौती थपिन्छ भन्ने गगनले बुझेका छन् तर उनीहरूलाई बाहिरै छाड्छु भन्न मिल्ने अवस्था पनि छैन।
त्यसैले उनी संयमित देखिएका छन्।
बरु २०८४ को चुनावमा कार्यकर्ताको ध्यान आकृष्ट गराउँदै त्यो बेला पनि उम्मेदवारका निम्ति टिकट बाँड्ने मै हुँ भन्ने सन्देश घुमाउरो पाराले दिएका छन्।
‘कांग्रेसमा गुट-उपगुट हुनु स्वाभाविक नै हो तर अहिलेको नेतृत्व विशेष परिस्थितिमा कांग्रेस जोगाउनका निम्ति अगाडि सरेको हो। अझ भनौँ- कांग्रेसलाई भगवान्ले बचाइदिएको हो’, प्रवक्ता देवराज चालिसे भन्छन्, ‘सबैलाई समेट्नका लागि वार्ता भइरहेको छ। समेट्ने हो तर अहिलेको नेतृत्वलाई अस्वीकार गर्छु, विशेष महाधिवेशन केही हैन भन्ने मतलाई पार्टीले स्वीकार्दैन। पार्टीभित्र अनुशासन समिति पनि छ भन्ने सबैलाई हेक्का रहोस्।’
गगनले नयाँ वर्ष २०८३ वैशाखदेखि कांग्रेसको भूमिकाबारे छलफल गर्ने योजना अगाडि सारेका छन् भने अबको सदस्यता डिजिटल हुने र नवीकरण नगर्नेको खारेज हुने बताएका छन्।
‘म काठमाडौँको वडा नं. ३० को क्रियाशील सदस्य हुँ। अब के हुन्छ, वैशाख १ गते म वडा नं. ३० मा लगेर फर्म भर्छु, त्यो भरेर बुझाउँछु, बुझाएपछि वडाले निर्णय गर्छ। निर्णयपछि मेरो क्रियाशील अद्यावधिक हुन्छ,’ थापाले भनेका छन्, ‘नवीकरणपछि मैले क्रियाशील होइन, कांग्रेस आइडेन्टिटी कार्ड पाउँछु। त्यो डिजिटल हुन्छ र एकपटक पाएपछि पहिलेजस्तो फर्म भर्न पर्दैन। नवीकरणको शुल्क नबुझाउनु भएको तिर्नुहुन्छ। मेरो वडामा ३४३ जना पार्टीको सिस्टममा हुनुहुन्छ, त्यो अब पार्टीको अभिलेखमा रहन्छ। तर, वैशाखमा जम्मा ४३ जना मात्र अद्यावधिक गर्न आउनुभयो भने ४३ जना मात्रै नेपाली कांग्रेसको सदस्य रहन्छ। अहिलेको विधानले पनि त्यही भन्छ। ४३ जना मात्र रहन पनि सक्छ, नयाँ ३० जना थप हुन पनि सक्छ। तर, जतिले लिनुहुन्छ, उहाँले सार्वजनिक रूपमा नै नेपाली कांग्रेसको सदस्य हो भनेर भन्न सक्नुपर्छ।’
उनको यो भनाइको अन्तर्य हो- थापा पार्टीभित्र नयाँ तरिकाले अगाडि बढ्दै छन्।
‘हिजो म कांग्रेस थिएँ र भोलि पनि हुँ भन्ने मान्यताले अब काम गर्दैन, बदलिएको कांग्रेसको सदस्य बन्न तिमी पनि बदलिनुपर्छ’ भन्ने सन्देश पनि उनले दिएका छन्।
Shares

प्रतिक्रिया