श्रम, संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याललाई दलीय घेराभन्दा माथि उठेर ‘साझा अभिभावक’को भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
सभामुख चयन प्रक्रिया सकिएसँगै अब हुने उपसभामुखको निर्वाचनमा हर्क साम्पाङले आफ्नो पार्टीको पनि दाबी रहेको सार्वजनिक गरेका छन्। सत्ता समीकरण र शक्ति बाँडफाँटको विषयमा अन्य दलहरूसँग छलफल भइरहेको उनले जानकारी दिए।
आइतबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राईले नयाँ जनमतको कदर गर्दै सभामुखले संसद्मा सबै दल र स्वतन्त्र सांसदहरूलाई समान व्यवहार गर्ने विश्वास व्यक्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित अर्यालले आइतबार नै राष्ट्रपति रामचन्द्र पाैडेलसँग सपथ लिएर कार्यभार सम्हालेका छन्।
अध्यक्ष राईले नयाँ समीकरण र फरक खालको जनमत आएकाले सदनभित्र कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने टिप्पणी गरे। 'दलबाट छुटिएर एउटा साझा अभिभावकको रूपमा सबैलाई न्याय हुने गरी नवनिर्वाचित सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ,' उनले भने, 'यदि सदनमा फरक खालको व्यवहार वा विभेद भयो भने प्रतिपक्षीको हैसियतमा हामी सशक्त आवाज उठाउनेछौँ।'
यसअघि चैत २१ गते भएको प्रतिनिधिसभाको चुनावमा श्रम, संस्कृति पार्टीले पनि उल्लेख्य उपस्थिति जनाएको पृष्ठभूमिमा उनले संसद्मा नयाँ शक्तिहरूको आवाजलाई नजरअन्दाज गर्न नहुने बताएका हुन्।अध्यक्ष राईले संसद्मा 'पुरानो' शैलीको राजनीति अब नचल्ने भन्दै जनसरोकारका मुद्दामा आफ्नो पार्टीले रचनात्मक प्रतिपक्षीको भूमिका खेल्ने स्पष्ट पारे।
Shares

प्रतिक्रिया