ग्लोबल


नेतृत्व सखाप हुँदा पनि युद्धमा कसरी टिकिरहेको छ इरान

नेतृत्व सखाप हुँदा पनि युद्धमा कसरी टिकिरहेको छ इरान

नेपालखबर
चैत २२, २०८२ आइतबार १८:०,

इरानको अवस्था यतिखेर नाजुक छ। इजरायलले र अमेरिकाले इरानमाथि लगातार हवाइ आक्रमण गरिरहेका छन्। उसका महत्त्वपूर्ण पूर्वाधार ध्वस्त पारिरहेका छन्। हवाइ आक्रमणलाई चुनौती दिने क्षमता इरानसँग छैन। सञ्चारप्रणाली ध्वस्त भइसकेको छ। शीर्ष नेता र सैन्य कमान्डरहरू मारिइसकेका छन्।

यस्तो आक्रमणबाट सामान्यतयाः अरु कुनै देश हुन्थ्यो भने यतिबेला थला परिसक्ने थियो। तर, इरानले इजरायल र खाडी मुलुकहरूमा क्षेप्यास्त्र प्रहार कायम राखेको छ। इजरायल र अमेरिकाले इरानको क्षेप्यास्त्र शक्ति ध्वस्त पारेको दाबी गरिरहँदा पनि तेहरानले योजनाबद्ध रुपमा क्षेप्यास्त्र आक्रमण गरेर ती मुलुकमा ठूलो क्षति गरिरहेकै छ। 

शुक्रबार मात्र इरानले एउटा अमेरिकी लडाकु विमान खसाइदियो। तथापि, दुई पाइलटलाई भने उसले कब्जा गर्न सकेन।

युद्ध सुरु भएयता इरानले इजरायलमाथि करिब ५ सय ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिसकेको छ। यो क्षेप्यास्त्र आक्रमणको दर गत वर्षको १२ दिने युद्धको तुलनामा निकै कम हो। तर, उसले खाडीका अमेरिकी सैन्य अखडा रहेका मुलुकहरूमा ३५ सयभन्दा बढी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिसकेको छ।

इजरायलले ७० प्रतिशत इरानी क्षेप्यास्त्र लन्चर ध्वस्त पारेको बताइरहँदा अमेरिकीहरूले भने गत साता एक तिहाइ ध्वस्त पारेको जनाएका थिए। इरानसँग अब जेजति क्षेप्यास्त्र र लन्चर बाँकी छन्, तिनलाई ध्वस्त गर्न भने कठिन रहेको बताइन्छ।

इरानले सुरुवातमा पहिले नै तय गरिसकेका निसानाहरूमा प्रहार गरेको थियो। तर, त्यसयता उसको कमान्ड सिस्टम परिस्थितिअनुकूल बनेको विश्लेषकहरूको भनाइ छ।

थुप्रै सैन्य अधिकारीहरू मारिए पनि केन्द्रीकृत कमान्ड र कन्ट्रोल कायम रहेको उनीहरू बताउँछन्। त्यसैले नै इरानको आणविक केन्द्रमा हमला भएपछि इरानले इजरायली आणविक केन्द्र रहेको क्षेत्रमा आक्रमण गरेको थियो। 

तथापि, इरानले विकेन्द्रीकृत नेतृत्वप्रणाली विकास गरेको उनीहरू बताउँछन्। जसको नेतृत्व अनेकौँ क्षेत्रका स्थानीय नेताहरूले गरेका छन्। इरानले दशकौँ लगाएर यस्तो प्रणाली बनाएको उनीहरूको भनाइ छ।

यसलाई इरानले ‘रंगीविरंगी प्रतिरक्षा रणनीति’ भन्ने गरेको छ।

‘यो डक्ट्रिन नेतृत्व मारिँदा पनि बाँच्ने तरिका हो,’ अमेरिकी थिंक ट्यांक फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसिजका इरान विज्ञ बेहनाम बेन तलेब्लुको भनाइ फाइनान्सियल टाइम्सले उधृत गरेको छ।

‘नेतृत्व छिन्नभिन्न भए पनि सैन्य कमान्डले आवश्यकताअनुसार निर्णय गर्न सकिरहेको छ,’ उनी भन्छन्।

यस्तो खतराका लागि इरान दशकौँदेखि तयार रहँदै आएको विश्लेषकहरूको तर्क छ। 

‘धेरै समयअघि नै इरानले सम्पूर्ण शीर्ष नेतृत्व मारिँदा पनि सुरक्षा फौज सक्रिय रहोस् भनेर केही कदम चालेको देखिन्छ,’ लन्डनस्थित रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटका रोबर्ट टोलस्ट भन्छन्, ‘यदि माथिबाट कुनै आदेश आएन भने के गर्ने भन्ने स्थानीय कमान्डरहरूलाई राम्रो थाहा छ।’

सञ्चारका लागि रेडियो र मोबाइल फोन प्रयोग नगरी ल्यान्डलाइन टेलिफोन र मेसेन्जरसमेत प्रयोग गरिएको अनुमान छ। 

अहिले इरानले ज्यादाजसो क्षेप्यास्त्र मोबाइल लन्चरबाट गरिरहेको बताइन्छ। अहिले दैनिक १५ हाराहारी क्षेप्यास्त्र इरानले हानिरहेको छ। तथापि, उसका निसाना तीक्ष्ण हुँदै गएका छन्।

शुक्रबार मात्रै इरानले अमेरिकी ई–३ विमान खसायो, जसको मूल्य ७० करोड डलर पर्छ।

यही दरमा जाँदा पनि इरान लामो समय युद्धमा टिक्ने र उसलाई जित्नका लागि टिके मात्रै पुग्ने कतिपयको बुझाइ छ।

‘इरानलाई यो युद्ध जित्न टिके पुग्छ। त्यसैले कम संख्यामा लामो समय क्षेप्यास्त्र प्रहार गर्ने रणनीतिमा इरान देखिन्छ,’ वासिङ्टनस्थित जेआईएनएसए का जोनाथन रुहे भन्छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad