प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले आइतबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार दिउँसो २:३० बजेका लागि शपथ ग्रहणको विशेष समारोह तय गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अर्याल चैत २१ गते भएको निर्वाचनमार्फत प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका हुन्। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवारका रूपमा उनले संसदको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन्।
नेपालको संविधानको धारा ९१ बमोजिम निर्वाचित सभामुखलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था छ। नवनिर्वाचित सभामुखको शपथका लागि आवश्यक कुराहरू तयार नै रहेको राष्ट्रपति कार्यालय स्रोतले बतायो। सपथ समारोहमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ।
सभामुख अर्यालका लागि यो कार्यकाल निकै चुनौतीपूर्ण मानिएको छ। विशेषगरी सदनमा विचाराधीन रहेका महत्वपूर्ण विधेयकहरू अगाडि बढाउने र सत्तापक्ष तथा प्रतिपक्षबीचको बढ्दो राजनीतिक ध्रुवीकरणलाई समन्वय गर्ने मुख्य जिम्मेवारी उनीमाथि छ। रास्वपाको उपसभापति समेत रहिसकेका अर्याललाई संसद्को तटस्थता कायम राख्नुपर्ने दबाब छ।
Shares

प्रतिक्रिया