नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा ६ वटा समस्या देखिएका छन्।
काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पलतामा उपचाररत ओलीलाई मुटु धड्कन बढ्ने समस्या देखिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार, विभिन्न किसिमका ६ वटा समस्या देखिएका छन्।
शनिबार बिहान पक्राउ परेपछि ओलीलाई स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको ‘एनेक्स-१’ को बेड नम्बर ५०१ मा चिकित्सकहरूको निगरानीमा राखिएको छ।
अस्पतालले आइतबार विज्ञप्ति जारी गरेर ओलीको मुटुको घड्कन बढेपछि चिकित्सकको निगरानीमा राखिएको जानकारी दिएको छ। अस्पताल उपनिर्देशक डा. गोपाल सेडाईले शनिबार रातिदेखि मुटुको धडकन बढेको पाइएका कारण २४ घण्टा निगरानीमा राख्नुपर्ने बताए।
यस्तै, उनको पिसाबमा पनि समस्या देखिएको छ। मिर्गौला प्रत्यारोपण गरेको भएकाले पिसाबमा समस्या देखिएको चिकित्सकले बताएका छन्।
अस्पतालले मधुमेह, थाइराइड हर्मोनको कमी, उच्चरक्तचाप, मिर्गौलामा पिसाब जमेर सुन्निने लगाएका समस्या देखिएको जनाएको छ। प्रवक्ता सेडाईले ओलीको पित्तथैलीमा पत्थरी पनि देखिएको जानकारी दिए।
‘रगत जाँच, भिडिओ एक्सरे लगायतका परीक्षण गरिएपछि पित्तथैलीमा पत्थरीदेखि थाइराइड हर्मोनको कमी देखिएको छ,’ उपनिर्देशक सेडाईले नेपालखबरसँग भने।
पित्तथैलीमा रहेको पत्थरी पनि बढ्दै गइरहेकोले के गर्ने भन्नेबारे चिकित्सकसँग सल्लाहमा थप निर्णय गरिने सेडाईको भनाइ छ। ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुन्। उनको दुई पटक मिर्गौला प्रत्यारोपण भएको छ।
जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदनका आधारमा सरकारले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान पक्राउ गरेको थियो। लेखकलाई भने प्रहरी हिरासतमै राखिएको छ।
आईतबार प्रहरीले दुवै जनालाई अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थपका लागि जिल्ला अदालत, काठमाडौँमा म्याद थपको निवेदन दिएको थियो। त्यसमाथि भएको बहसका क्रममा पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराइएको छ। पूर्वप्रधानमन्त्री ओली भने अस्पतालबाट भिडिओ कन्फ्रेन्समार्फत बहसमा जोडिएका थिए।

Shares

प्रतिक्रिया