राजनीति


पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा लगिने

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा लगिने

नेपालखबर
चैत १५, २०८२ आइतबार ९:३१, काठमाडौँ

प्रहरीको नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज अदालतमा पेस गरिने भएको छ। 

जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा शनिबार गिरफ्तार एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई हिरासत म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइने भएको हो। 

डाक्टरकै निगरानी राख्नुपर्ने भनिएपछि ओली महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमै छन् भने लेखकलाई महराजगन्जमै रहेको प्रहरीको २ नम्बर गणमा राखिएको छ। 

जेनजी आन्दोलनमा भएका घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले गरेको सिफारिसबमोजिम ज्यानसम्बन्धी कसुरमा ओली र लेखकलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो।

आयोगले दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको छ। अब यही दफा अनुसार प्रहरीले अनुसन्धान गरेर अदालतमा मुद्दा लैजाने प्रक्रिया अगाडि बढाउने छ। तर उनीहरूलाई थुनामै राखेर अनुसन्धान गर्ने कि नगर्ने भन्ने विषयमा भने अदालतको म्याद थपपछि मात्रै तय हुनेछ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ७६ जना मारिएका थिए। प्रहरीको गोली लागेर ४२ जनाको मृत्यु भएको थियो। प्रहरीलाई गोली चलाउन आदेश दिएको आरोप उनीहरूलाई छ। तर आयोगको बयानमा भने दुवै जनाले आदेश दिएको अस्वीकार गरेका छन्।

गोली चलाउने प्रहरीको हकमा भने थप अध्ययन गरेर मात्रै निर्णय गर्ने भएको छ। आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूलाई पनि कारबाही गर्न सिफारिस गरेको छ। 

उनीहरूलाई तत्काल कारबाही नगर्ने तर ओली र लेखकलाई तत्काल पक्राउ गर्न सुधनले शुक्रबार रातभर सुरक्षा प्रमुखहरू, गृहसचिव र कानुन सचिवसँग आईजीपी निवासमा छलफल गरेका थिए। त्यही छलफलबाट तत्काल पक्राउ गरी कारबाही अगाडि बढाउने सहमति जुटेको थियो।

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad