आफ्ना अध्यक्ष केपी ओलीलाई रिहाइ गर्न माग गर्दै एमाले कार्यकर्ताले काठमाडौँको चावहिलमा प्रदर्शन गरेका छन्।
एमाले कार्यकर्ताले ओलीलाई रिहाइ गर्न माग गर्दै अहिले चाबहिलमा नाराबाजी गरिरहेका छन्।
उनीहरूले अध्यक्ष ओलीलाई रिहा गर, प्रतिशोधपूर्ण कारबाही मुर्दावाद, प्रहरीका हत्यारालाई कारबाही गर, सिंहदरबार जलाउनेलाई कारबाही गर, सहकारी ठगलाई कारबाही गर लगायतका नारा लगाएका छन्।
देशका अन्य विभिन्न जिल्लामा पनि ओली पक्राउकाे विराेधमा एमाले कार्यकर्ताले प्रदर्शन गरेका छन्।
गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा बालेन नेतृत्वको सरकारले आज बिहान तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई घरबाटै गिरफ्तार गरेको थियो।
भक्तपुरको गुण्डुस्थित निवासबाटै गिरफ्तार गरिएका ओलीलाई काठमाडौँ जिल्ला प्रहरी परिसरबाट स्वास्थ्य परीक्षणका लागि अहिले महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल पुर्याइएको छ।
ओलीलाई टिचिङ अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको छ। रेड जोनमा विशेष र जटिल प्रकारका बिरामीलाई राख्ने गरिन्छ।
स्वास्थ्य जाँच भइसकेपछि पूर्वप्रधानमन्त्री ओलीलाई कहाँ राख्ने भन्ने टुंगो लाग्ने काठमाडौँ प्रहरी परिसरका प्रवक्ता, एसपी पवनकुमार भट्टराईले नेपालखबरलाई जानकारी दिए।
ओली पक्राउको विरोध गरेको एमालेले पार्टीको आधिकारिक धारणा तय गर्न सचिवालय बैठक बसिरहेको छ। शनिबार बिहान नौ बजेदेखि नै सचिवालय बैठक बसेको हो। बैठक अझै जारी छ।
Shares

प्रतिक्रिया