प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो मन्त्रिमण्डलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त गरेका छन्।
रास्वपा स्थापना कालदेखि नै सक्रिय गौतम पछिल्लो समय बालेन शाहको राजनीतिक अभियान र रणनीतिमा निकै नजिक रहेर काम गर्दै आएकी थिइन्। यसपटकको निर्वाचनमा उनले चितवन-३ बाट जित हासिल गरेकी थिइन्।
बालेन प्रधानमन्त्री बन्ने हुन् कि होइनन् भन्ने चर्चा चलिरहेका बेला चितवन-३ बाट निर्वाचित भएपछि प्रमाणपत्र बुझेपछि 'बालेन शाह नै प्रधानमन्त्री हुने' सार्वजनिक गरेकी थिइन्।
निर्वाचनको नतिजा अनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गरेकी थिइन्। उनले आफ्नी निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहाललाई ३८ हजार ६६२ को भारी मतान्तरले पराजित गरेकी थिइन्। दाहालले २० हजार ६१५ मत मात्र प्राप्त गरेकी थिइन्।
सोबिता गौतम २०७९ को प्रतिनिधि सभामा निर्वाचनमा काठमाडौं-२ बाट प्रत्यक्ष रूपमा निर्वाचित सबैभन्दा कान्छी संघीय सांसदका रूपमा उदाएकी थिइन्। राजनीतिमा प्रवेश गर्नुअघि उनी एक कानुन व्यवसायी र प्रखर टेलिभिजन प्रस्तोता थिइन्। कानुनमा स्नातकोत्तर उनले अघिल्लो संसदमा कानुन, न्याय तथा मानव अधिकार समितिमा रहेर काम गरेकी थिइन्।
सांसदको पहिलो कार्यकालमा उनी अन्तर-संसदीय संघ (आइपियु) को स्वास्थ्य समितिमा निर्वाचित भएकी थिइन्, जहाँ उनले विश्वव्यापी स्वास्थ्य समानता र समावेशी नीतिको वकालत गरेकी थिइन्।बिजुली समेत नपुगेको ग्रामीण गाउँमा जन्मिएर सरकारी विद्यालयमा अध्ययन गरेकी गौतमलाई सामाजिक सञ्जालमा उनको भाषण र तार्किक क्षमताका कारण धेरैले रुचाउने गरेका छन्। कानुनमन्त्रीका रूपमा अब उनले विधायी सुधार, संस्थागत जवाफदेहिता र नागरिक सशक्तिकरणका क्षेत्रमा काम गर्ने अपेक्षा छ।
शुक्रबार शीतल निवासमा राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री बालेनले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्।
Shares

प्रतिक्रिया