बालेन शाह नेतृत्वको सरकारमा प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी पाएकी छन्।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई सामान्य प्रशासन मन्त्री बनाउने निर्णय गरेको हो।
रास्वपाले समानुपातिकका लागि गरेको प्राइमरी इलेक्सनमा महिलातर्फ पहिलो बनेकी उनी उनी शालिन र जुझारु नेताका रूपमा परिचित छिन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐठपुरमा जन्मिएकी ३२ वर्षिय प्रतिभा रावल रास्वपाको सहप्रवक्ता हुन्।
उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य बनेकी हुन्।
एक दशकभन्दा बढी समय पत्रकारिता गरेर राजनीतिमा लागेकी रावल पहिलो संसद् यात्रामै मन्त्री बन्न सफल भएकी हुन्।
पत्रकार रहँदा ३२ वर्षीया रावलले साउथ एसिया चेक, रिपब्लिका र ग्यालेक्सी टीभीलगायत सञ्चारमाध्यममा काम गरेकी थिइन्।
ग्यालेक्सीमा काम गर्दागर्दै उनी हाल रास्वपाका सभापति लामिछानेसँग नजिक भएर काम गरिन्।
लामिछानेले २०७९ असार ७ मा रास्वपा गठन गरेपछि केही महिनामै केन्द्रीय समिति विस्तार हुँदा केन्द्रीय समितिमा पुगेकी थिइन्।
रास्वापाको संस्थापक सदस्य बनेर प्रत्यक्ष रूपमा रास्वपासँग जोडिएकी रावलले नयाँ पुस्ताको राजनीतिमा एक आशालाग्दो महिला नेतृत्वको छवि बनाएकी छन्।
रास्वपाको सहप्रवक्ताको जिम्मेवारी सम्हालेकी रावल सभापति रवि लामिछानेको विश्वास पात्रमध्येकी हुन्।
केही समयका लागि उनले कार्यवाहक प्रवक्ताको समेत जिम्मेवारी सम्हालेकी थिइन्।
रवि लामिछाने गृहमन्त्री हुँदा रावलले सचिवालयमा पनि काम गरेकी थिइन्।
प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले झण्डै दुईतिहाइ प्राप्त गरेपछि सभापति लामिछानले रावललाई यो सफलतामा पर्दा पछाडि बसेर लड्ने योद्धाका रूपमा चित्रण गरेका थिए।
‘मेरो सचिवालयमा बसेर एउटा योद्धाका रूपमा निरन्तर लड्ने र आगामी नेमा पनि लड्ने प्रतिभा रावललाई सम्झन चाहन्छु,’ लामिछानेले भनेका थिए।
रावलले पार्टी सभापति रवि लामिछानेको कोर टिममा रहेर काम गर्दै आएकी छन्।
लामिछानेको मुद्दा र कानुनी प्रक्रियामा पनि उनले निकै सहयोग गरेकी छन्।
Shares

प्रतिक्रिया