राजनीति


अरुलाई कारबाही, आफ्ना ९ कर्मचारीलाई पुरस्कृत र बढुवा गर्न आयोगको सिफारिस

अरुलाई कारबाही, आफ्ना ९ कर्मचारीलाई पुरस्कृत र बढुवा गर्न आयोगको सिफारिस

नेपालखबर
चैत ११, २०८२ बुधबार २२:१४, काठमाडौँ

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ। सरकारले सार्वजनिक गर्ने निर्णय गर्नु पहिले नै प्रतिवेदन बाहिरिएको हो। 

उक्त प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहितलाई कारबाही सिफारिस गरिएको छ।

यस्तै नेपाल प्रहरीका एआईजी सिद्धिविक्रम शाह, सशस्त्र प्रहरीका एआईजी नारायणदत्त पौडेल, तत्कालीन गृहससचव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि कारबाही सिफारिस गरेको छ। 

डीआईजी ओमबहादुर राना, काठमाडौँका तत्कालीन प्रहरी प्रमुख विश्व अधिकारी, एसएसपी दीपशम्शेर जबरा र एसपी ऋषिराम कंडेललाई पनि कारबाही गर्न आयोगको सिफारिस छ। 

यस्तै सशस्त्र प्रहरीका डीआईजी सुरेश कुमार श्रेष्ठ र एसपी जीवन केसी राष्ट्रिय अनुसन्धान विभागका सह निर्देशक कृष्णप्रसाद खनाल र सह अनुसन्धान निर्देशक रिबेन कुमार गच्छदार पनि आयोगको कारबाही सिफारिसको सूचीमा छन्। 

आयोगले नेपाली सेनाका चार स्थानमा खटिएका चार जना अधिकारीहरुलाई कारबाही गर्न सिफारिस गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा सुरक्षाका लागि खटिएका सहायक रथी मनोज बैदवार, प्रधानमन्त्री निवास बालुवाटारका प्रमुख सेनानी दिवाकर खड्का, सिंहदरबार सचिवालयमा सुरक्षाका लागि खटिएका प्रमुख सेनानी गणेश खड्का र संसद भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा खटिएका सेनानी सन्तोष ढुंगेललाई पनि कारबाही गर्न आयोगको सिफारिस छ। उनीहरुलाई सैनिक ऐन, २०६३ अनुसार कारबाही गर्न आयोगले सिफारिस गरेको छ। 

जेनजी आन्दोलनमा खटिएका ६ जना प्रहरी र २ जना सर्वसाधारणलाई पुरस्कृत गर्न सिफारिस गरेको आयोगले आफ्नै कार्यालयमा खटिएका ९ जना कर्मचारीलाई पुरस्कृत र बढुवा गर्न सिफारिस गरेको छ।

प्रहरी कार्यालय र हतियार बचाएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेत,  प्रहरी बृत्त कालीमाटीका डीएसपी मधु थापा, मालिगाउँ बृत्तका डीएसपी सुनील शाह, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका डीएसपी चिनिमाया तामाङ, प्रहरी बृत्त जनसेवाका डीएसपी कृष्णकुमार चन्द र ठिमी बृत्तका डीएसपी नवराज ढुंगानालाई पुरस्कृत गर्न सिफारिस गरेको छ। 

यस्तै आन्दोलनकारीबाट प्रहरी बचाउन मद्दत गरेका दुई जना नागरिकलाई पनि पुरस्कृत गर्न आयोगले सिफारिस गरेको छ। जसमा होटल स्वर्णिम एण्ड गेष्टहाउस कोटेश्वरका शिवराम बाँडा र कोटेश्वरकै घडी पसल सञ्चालक गीता कुमारी साह छन्।

यस्तै, आयोगले आफ्नो काममा खटिएका ९ जना कर्मचारीलाई भने मानपदवी लगायत नगद पुरस्कार दिन सिफारिस गरेको छ। आयोगको काममा खटिएका गृह मन्त्रालयका तीन कर्मचारी र ६ जना प्रहरी छन्। 

गृह मन्त्रालयका सहसचिव प्रकाश पौडेल, उपसचिव कमल पाण्डे र कम्प्युटर अपरेटर ज्ञानु थापा छन्। यस्तै डीएसपी विष्णुप्रसाद सोती र मुकेशकुमार तिवारी, इन्सपेक्टर गजेन्द्र रावललाई पनि पुरस्कृत गर्न सिफारिस गरेको छ। अरु तीन जना प्रहरीलाई भने एक तह बढुवा गर्न सिफारिस गरेको छ। उनीहरू पनि आयोगको काममा खटिएका थिए। 

सहायक हवल्दार जयकिशन प्रसाद कुर्मी, नवराज नेपाली र हरिप्रसाद जैशीलाई एक तह बढुवा गर्न सिफारिस गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad