राजनीति


विकास र समृद्धिका लागि काम गर्नुपर्ने दायित्व जनप्रतिनिधिको काँधमा आएको छ: राष्ट्रपति पौडेल

विकास र समृद्धिका लागि काम गर्नुपर्ने दायित्व जनप्रतिनिधिको काँधमा आएको छ: राष्ट्रपति पौडेल

नेपालखबर
चैत ११, २०८२ बुधबार १४:७, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व अब जनप्रतिनिधिको काँधमा आएको बताएका छन्।

बुधबार निर्वाचन आयोगले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले साझा लक्ष्यमा एकजुट हुनुपर्ने बताए। ‘निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि  एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व अब जनप्रतिनिधिको काँधमा आएको छ, लोकतन्त्रमा मत फरक हुन सक्छन्, तर राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत हुनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने। 

संघीय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको जनताको जीवनस्तर माथि उठाएर मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न राष्ट्रपति पौडेलले आह्वान गरे। ‘लोकतन्त्रले प्रदान गरेको आफ्ना प्रतिनिधि चुन्ने अधिकारको प्रयोग गरी यो महान् उत्सवमा नेपाली नागरिकले देखाउनुभएको उत्साहपूर्ण सहभागिताले हाम्रो लोकतान्त्रिक प्रणालीप्रतिको अटुट विश्वासलाई पुनः पुष्टि गरेको छ र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ तुल्याएको छ, मतदाताले मतदान केन्द्रसम्म पुगेर व्यक्त गर्नुभएको मतादेशले मुलुकको भविष्यलाई दिशानिर्देश गरेको छ,’ उनले भने। 

निर्वाचन आयोगले यस पटक निर्वाचनमा मतदाताको सहभागिता बढाउने, मितव्ययीता र पारदर्शीता कायम गर्ने, आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने, हरित निर्वाचनको अवधारणा कार्यान्वयन गर्नेलगायतका क्षेत्रमा उल्लेखनीय कार्य गरेको पौडेलले बताए। ‘यसले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष, विश्वसनीय र वातावरण मैत्री बनाउन मद्दत पुगेको र निर्वाचनले अन्तर्राष्ट्रिय समूहबाट समेत प्रसंशा बटुल्न सफल भएको मैले महसूस गरेको छु,’ उनले भने। 

राष्ट्रपति पौडेलले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गरे। उनले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रुपमा सफलतापूर्वक सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सम्बद्ध सरोकारवाला तथा आ-आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गरेकोमा धन्यवाद ज्ञापन गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad