राजनीति


२४ सांसदले नेपाली बाहेकका भाषामा शपथ लिने

२४ सांसदले नेपाली बाहेकका भाषामा शपथ लिने

नेपालखबर
चैत १०, २०८२ मंगलबार १०:३३, काठमाडौँ

नव निर्वाचित २४ सांसदले नेपाली बाहेकका भाषामा शपथ लिने तयारी गरेका छन्। 

प्रतिनिधि सभाका नव निर्वाचत २७४ जना सदस्यको शपथ ग्रहण यही चैत १२ गते हुँदैछ। 

प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य कांग्रेस नेता अर्जुननरसिंह केसीले ११ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि बाँकी २७४ सांसद्लाई केसी शपथ गराउने संसद् सचिवालयले जनाएको छ। 

केसीले भने भोली (चैत ११ गते) पौडेलबाट राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ। 

चैत १२ गते दिउँसो २ बजे केसीले बाँकी सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने संसद् सचिवालयले जनाएको छ।  

संवैधानिक व्यवस्थाअनुसार संघीय संसद्का प्रत्येक सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि शपथ लिनुपर्छ।

संवैधानिक व्यवस्था अनुसार नेपाली भाषाबाहेक मातृभाषामा पनि सांसदहरूले शपथ लिन पाउँछन्।

त्यसका लागि सचिवालयले तोकेको समयसीमाभित्र सम्बन्धित सांसदहरूले त्यसको जानकारी गराउनुपर्ने प्रावधान छ।

सोही अनुसार मातृभाषामा शपथ लिन चाहने सांसदहरूलाई त्यसको जानकारी दिन संसद् सचिवालयले सूचित गरेको थियो। जसअनुसार सोमबार साँझसम्म २४ सांसदले नेपालीबाहेकको मातृभाषामा शपथ ग्रहण गर्ने जानकारी संसद् सचिवालयलाई गराएका छन्। 

सोमवार साँझ ६ बजेसम्म नेपाली भाषाबाहेक विभिन्न १० वटा भाषामा शपथ लिने जानकारी सांसदहरूले गराएका संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

नेपालीबाहेक भाषामा शपथ लिने तयारी गरेका २४ सांसदमध्ये धेरैले मैथली र नेपाल भाषा रोजेका छन्।

रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने अहिलेसम्म कुन भाषामा शपथ लिने हुन् खुलेको छैन।

०७९ मा भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाका मेयरमा निर्वाचित हुँदा बालेनले नेपालीमा शपथ लिएका थिए। त्यसलाई फेरि उनले नेपाल भाषामा दोहोर्‍याएका थिए।

राप्रपाकी खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने जानकारी गराएकी छन्। त्यसबाहेक मैथली, भोजपुरी, मगही, थारू, डोटेली, अवधिलगायतका भाषामा पनि सांसद्ले शपथ लिने गिरीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad