राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएपछि राष्ट्रपति कार्यालयले तयारी थालेको छ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई–तिहाइ सिट जितेको रास्वपाले बालेन शाहलाई प्रधानमन्त्री बनाउन लागेको हो।
चैत १२ गते रास्वापको संसदीय दलको नेता बनेर बालेन चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने छन्। रास्वपाले चैत १३ मा नयाँ प्रधानमन्त्रीको शपथका लागि राष्ट्रपति कार्यालयलाई पत्र पठाइसकेको छ। त्यही अनुसार राष्ट्रपति कार्यालयले पनि तयारी थालेको पाइएको हो।
रास्वपाले प्रधानमन्त्रीको शपथ राष्ट्रपतिको कार्यालय शीतल निवास बाहिर गराउने योजना बनाएको थियो। राष्ट्रपति पौडेल तयार नभएपछि शीतल निवासमै नयाँ प्रधानमन्त्रीको शपथ हुन लागेको बुझिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले शीतल निवासमै शपथको तयारी भइरहेको नेपालखबरलाई बताए।
उनले भने, ‘शपथ ग्रहण राष्ट्रपति कार्यालयमै हुन्छ। राष्ट्रपति शपथ खुवाउन बाहिर जाने कुरै भएन नि। शपथ ग्रहण भनेको जसले गराउने हो उसै कहाँ गर्ने हो। एकथरीले हल्ला गरे होलान्। त्यस्तो होइन।’
भदौ २४ गते आगजनी गरिएको राष्ट्रपति कार्यालय मर्मत नभएकाले शीतल निवास बाहिर शपथ ग्रहण गराउनेबारे रास्वपाभित्र छलफल भएको थियो। राष्ट्रपति कार्यालयका एक कर्मचारीका अनुसार शीतल निवासमै शपथ ग्रहणको तयारी भइरहेको छ।
‘राष्ट्रपति कार्यालयमा त्यत्रो ठाउँ छ। पाल टाङ्न सकिन्छ। बाहिर चौर पनि छ। चौरमा मञ्च बनाएर पनि शपथ गराउन सकिन्छ। जलेको सबै कालो भाग हरियो जाली लगाएर ढाकिएको छ। त्यहाँ सरसफाइ चलिरहेको छ। त्यहाँ सेना राखिराखेको छ। नेपालको झण्डा राखिएको छ। शपथ त्यहीँ हुन्छ,’ एक कर्मचारी भन्छन्।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि नयाँ प्रधानमन्त्रीको शपथ शीतल निवासमै हुने बताएका छन्।
Shares

प्रतिक्रिया