एमालेका दिग्गज नेता दिवंगत भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद निर्वाचित भएकी छन्। एमालेको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ र वृद्ध भत्ता जस्ता लोकप्रिय कार्यक्रम ल्याउने बुवाको छत्रछायाँमा हुर्किएकी लिमाले आफै भने किन एमाले रोजिनन्?
शुक्रबार नेपालखबर ‘तत्कालै’सँग गफिन आइपुगेकी उनले सुरुमै प्रस्ट पारिन्, ‘म एमालेको संगठित सदस्य थिएँ, तर बिस्तारै पार्टी जनताको बहुदलीय जनवादको मर्मभन्दा उल्टो हिँड्न थाल्यो। नागरिकलाई केन्द्रमा राखेर काम गर्ने कार्यसम्पादन नभएपछि मलाई लाग्यो कि अब यताबाट हुँदैन र, म वैकल्पिक राजनीतिको बाटोमा लागेँ।’
लिमा अधिकारीले थपिन्, ‘बुवाको विचार र संघर्षप्रति मेरो सधैँ सम्मान छ, तर रवि लामिछानेको नेतृत्वसँग प्रभावित भएँ। उहाँले देश बनाउन सक्ने ल्याकत राख्नुहुन्छ भन्ने विश्वासले मलाई रास्वपाको अभियानमा जोडिन प्रेरित गर्यो।’

हाल रास्वपा केन्द्रीय कोषाध्यक्षसमेत रहेकी लिमाले यसपटकको जनमतलाई विसं २०१५ सालको निर्वाचनसँग तुलना गर्दै भनिन्, ‘यो ऐतिहासिक जनमत हो। २०१५ सालमा नेपाली कांग्रेसले ३७.२ प्रतिशत मत प्राप्त गरेको थियो, अहिले हामीले ४८ प्रतिशत लोकप्रिय मत प्राप्त गरेका छौँ। यो नागरिकको परिवर्तनप्रतिको हुटहुटी हो।’
फागुन २१ मा सम्पन्न निर्वाचनका क्रममा झापा, मोरङ र सुनसरीमा खटिएकी अधिकारीले अनुभवी नेताहरूको हारको पूर्वअनुमान गरेको दाबी गरिन्।
निर्वाचनको परिणामबारे चर्चा गर्दै उनले झापा–५ मा केपी शर्मा ओलीको हारको पूर्वसंकेत पाएको दाबी गरिन्। रास्वपातर्फबाट प्रधानमन्त्री बन्ने तयारीमा रहेका बालेन शाहको उम्मेदवारी दर्ताकै दिन आफू झापा पुगेको स्मरण गर्दै उनले भनिन्, ‘त्यहाँको माहोल देखेपछि मैले परिवार र पार्टीका साथीहरूलाई भनेकी थिएँ कि यसपालि झापामा ठूलो सुनामी आउँछ र केपी ओली भारी मतान्तरले पराजित हुनुहुन्छ। नागरिकले घरघरबाट घन्टी बजाएर आशीर्वाद दिनुभएको थियो।’
रास्वपाको यो सफलताको पछाडि रवि लामिछानेको भिजन र उनीमाथि गरिएको राजनीतिक प्रतिशोध पनि महत्वपूर्ण कारण रहेको उनको बुझाइ छ।
‘पार्टी सभापति लामिछानेमाथिको प्रतिशोध विरुद्ध नागरिकले मतपत्रमार्फत आक्रोश पोखेका हुन्। त्यस्तै बालेन शाहको क्रेज र हाम्रा २१ सांसदले सदनमा गरेको कामले पनि जनतालाई आशा जगायो,’ उनले भनिन्।

बिहीबार मात्रै सरकार निर्माणका सन्दर्भमा बाहिरिएको चार पुरुष नेताहरूको तस्बिर र समावेशिताको प्रश्नमा अधिकारीले बचाउ गर्दै भनिन्, ‘हामीलाई अहिले काम गर्न दिऊँ। टिम बनाउन केही नेताहरू छलफलमा बस्नु स्वाभाविक हो। पार्टी सचिवालय र केन्द्रीय समितिमा धेरै महिला नेतृत्व हुनुहुन्छ, त्यसैले यसलाई नकारात्मक रूपमा लिनु पर्दैन।’
चैत १२ गते सांसदको शपथ लिइसकेपछि चैत १३ गतेसम्म बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भावना रहेको उनले संकेत गरिन्।
‘रास्वपाकै बहुमत भएकाले क्याबिनेट निर्माण गर्न समय नलाग्ला, त्यही दिन नै घोषणा हुनसक्छ,’ उनले भनिन्।
आर्थिक विज्ञता र बैंकिङ क्षेत्रको अनुभव भएकी अधिकारीले मध्यपूर्वको तनावले नेपालमा पार्ने प्रभावबारे पनि गम्भीर चिन्ता व्यक्त गरिन्।
‘मध्यपूर्वको द्वन्द्वले विश्वव्यापी अर्थतन्त्रमा असर पारेको छ र त्यसको सिधा मार नेपालमा देखिन थालिसकेको छ। ग्यास र इन्धनको मूल्य वृद्धि, आपूर्ति व्यवस्थामा अवरोध र लाखौँ नेपाली युवाको रोजगारी जोखिममा पर्नु हाम्रा लागि ठूलो चुनौती हो,’ उनले भनिन्।

यस्तो संकटपूर्ण अवस्थामा अब बन्ने बालेन नेतृत्वको सरकारले के गर्छ भन्ने प्रश्नमा अधिकारीले भनिन्, ‘हामीसँग अर्थतन्त्र र परराष्ट्र मामिला बुझेका विज्ञहरूको बलियो टिम छ। हाम्रो पहिलो प्राथमिकता नै लगानीमैत्री नीतिगत सुधार हुनेछ। लगानीकर्ताको कन्फिडेन्स बढाएर अर्थतन्त्रलाई चलायमान बनाउनु पर्छ। मध्यपूर्वबाट फर्कन सक्ने जनशक्तिलाई कसरी स्वदेशमै व्यवस्थापन गर्ने भन्नेमा हामीले ५ वर्षमा १२ लाख रोजगारी सिर्जना गर्ने योजना बनाएका छौँ।’
७ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्न स्थिर आर्थिक नीतिको अभाव रहेको उनले बताइन्।
‘बालेन नेतृत्वको सरकारले संकुचित आर्थिक नीतिलाई हटाएर लगानी सुरक्षित गर्ने र प्रतिव्यक्ति आम्दानी ३ हजार डलर पुर्याउने लक्ष्यका साथ काम गर्नेछ। यो संकट हाम्रो लागि एक परीक्षा हो र हामी यसलाई अवसरमा बदल्नेछौँ’ उनले भनिन्।
उनले रास्वपाले निकै कम खर्चमा चुनाव लडेको र अबको सरकारले नागरिकको आकांक्षा र डेलिभरीका पक्षमा काम गर्ने प्रतिबद्धता जनाइन्। आफ्नो विज्ञता आर्थिक र उद्योगका क्षेत्रमा रहेको भन्दै उनले महिला सशक्तीकरण र नीति निर्माणमा विशेष जोड दिने संकल्प पनि व्यक्त गरिन्। पार्टीले जिम्मेवारी दिए उद्योग मन्त्रालय सम्हाल्न तयार रहेको संकेत लिमा अधिकारीले गरिन्।
हेर्नुहोस्, लिमा अधिकारीसँग गरिएको भिडिओ कुराकानी नेपालखबर ‘तत्कालै’ :
फोटो/भिडिओ : सरोज नेपाल

प्रतिक्रिया