राजनीति


कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेलाई पाँच लाख धरौटीमा छाड्न आदेश

कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेलाई पाँच लाख धरौटीमा छाड्न आदेश

नेपालखबर
चैत २, २०८२ सोमबार १६:१४, काठमाडौँ

नेपाली कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालत, काठमाडौँले आदेश दिएको छ। 

सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा चालिसेसँग पुर्पक्षका लागि उक्त धरौटी माग गर्ने आदेश गरेको हो। मंसिरमा अख्तियारले दायर गरेको मुद्दाको पुर्पक्षका लागि चालिसे सोमबार अदालतमा उपस्थित भएका थिए। 

यस्तो छ चालिसेमाथि लागेको आरोप

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७८ मा अर्थ समितिको काम, कर्तव्य र अधिकारको विषय उल्लेख छ। जसको पाँचौँ बुँदामा लेखिएको छ, ‘कार्यक्षेत्रसँग सम्बन्धित सरकारी निकायको सार्वजनिक सम्पत्तिको हिनामिना भए, नभएको अध्ययन, अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन दिने र बैठकमा प्रतिवेदन पेस गर्ने।’

यो समितिलाई संवैधानिक आयोगका काम कारबाहीको अनुगमन तथा मूल्यांकन गरी प्रतिवेदन दिने र वार्षिक प्रतिवेदनमाथि छलफल गरी सुझाव दिने अधिकार पनि छ। तर, संवैधानिक आयोगमाथि नै निगरानी राख्ने अधिकार भएको अर्थ समितिकै निवर्तमान सभापति गैरकानुनी आर्जनका कारण भ्रष्टाचारको मुद्दामा तानिएका हुन्।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनअघि सांसद चालिसे अर्थ समितिको सभापति थिए। उनी सांसद हुनुअघि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका मेयर थिए। 

अख्तियारले गरेको अनुसन्धानमा उनको आम्दानीभन्दा ३ करोड ६८ लाख ४७ हजार १६१ रुपैयाँ ७१ पैसा गैरकानुनी आर्जन गरेको देखिएको थियो। चालिसेले गोकर्णेश्वर नगरपालिकाको मेयरमा कार्यरत रहँदा पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको थियो। 

उनी २०७४ सालदेखि २०७९ सम्म उक्त नगरको मेयर थिए। यही अवधिको ५ वर्षलाई आधार मान्दै अख्तियारले अनुसन्धान गरेको थियो। यो अवधिमा चालिसेका एकाघरका परिवारको विभिन्न स्रोतको आम्दानी र खर्चको हिसाबकिताब अख्तियारले गरेको थियो।

चालिसे मेयरमा निर्वाचित हुनु पहिले उनको बैंक मौज्दात १८ लाख ४० हजार ५२७ रुपैयाँ २४ पैसा थियो। मेयर भएपछि पारिश्रमिक १५ लाख ४९ हजार ६३६ रुपैयाँ २० पैसा बचत देखिएको थियो। भत्ता ६ लाख ४० हजार ३३ रुपैयाँ ३३ पैसा पाएको देखिएको थियो।

छोरा सागर चालिसे र सञ्जीव चालिसेको निश्चल मेडिसिन सेन्टर एन्ड फार्मेसीको पारिश्रमिक बचत आय रकम ३३ लाख ५१ हजार २ रुपैयाँ २२ पैसा, सागर चालिसेको इन्जिनियरिङ एन्ड एजुकेशन जोन प्रालिको पारिश्रमिक बचत आय ८ लाख ५६ हजार ८०० रुपैयाँ, बुहारी प्रमिला पोखरेलको पारिश्रमिक बचत आय रकम १४ लाख ४० हजार ९८ रुपैयाँ २५ पैसा, बोनस रकम २ लाख ९५ हजार २११ रुपैयाँ ९६ पैसा र बैंकबाट लिएको कर्जा १४ लाख २१ हजार रुपैयाँ, सहकारी संस्थाबाट लिएको कर्जा २ करोड ८ लाख ४९ हजार र इन्स्योरेन्स कम्पनीबाट ५ लाख रुपैयाँ कर्जा लिएको देखिएको थियो।

चिरायु फर्मास्युटिकल्स प्रालि स्वेच्छिक खारेजी हुँदा ३३ लाख ७ हजार रुपैयाँ, सेयर बिक्रीबाट ३६ लाख ७२ हजार ७०५ रुपैयाँ ५२ पैसा देखिएको थियो। बैंकबाट ७ लाख १ हजार ३७ रुपैयाँ ९३ पैसा ब्याज प्राप्त भएको देखिएको थियो। कृषिबाट १ लाख ५० हजार ७९३ रुपैयाँ ४८ पैसा र जग्गा बिक्रीबाट ८२ लाख ६० हजार ९८७ रुपैयाँ ४९ पैसा आम्दानी देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख थियो। 

यी सबै गरी चार करोड ८८ लाख ४५ हजार ८३३ रुपैयाँ ६२ पैसा चालिसेका परिवारको कर्जासहितको वैधानिक आय आर्जन देखिएको थियो। उनीहरूले यही अवधिमा गरेको खर्च पनि अख्तियारले हिसाब गरेको थियो। घर निर्माण र फर्निचरमा ७० लाख ३ हजार ८३७ रुपैयाँ २८ पैसा खर्च देखिएको थियो।

त्यस्तै, घरको नक्सा पासमा २६ हजार ८३ रुपैयाँ २० पैसा, उग्रतारा स्यान्ड एन्ड फुटबल रिक्रियसन सेन्टर निर्माणमा ८ लाख ४० हजार र यसको सञ्चालनमा १५ हजार ७ सय रुपैयाँ खर्च भएको देखिएको थियो। बैंकबाट लिएको कर्जाको साँवा र ब्याज भुक्तानीमा ६ लाख ७० हजार ८७ रुपैयाँ १० पैसा, बिमा प्रिमियम भुक्तानीमा ३१ लाख ४२ हजार ९३ रुपैयाँ, कम्पनी लगानीमा ४१ लाख ९१ हजार ६ सय रुपैयाँ, शिवम् बचत तथा ऋण सहकारी संस्थाबाट लिएको कर्जाको साँवा र ब्याज भुक्तानीमा २ करोड १८ लाख ७० हजार ६९५ रुपैयाँ र सेयर खरिदमा ९१ लाख १९ हजार ८४० रुपैयाँ खर्च गरेको पाइएको थियो।

कर्जा लिँदा तिरेको सेवा शुल्क एक लाख ४५ हजार ९९५ रुपैयाँ, सहकारीबाट लिएको कर्जा नवीकरणमा एक लाख २३ हजार ४१० रुपैयाँ, जग्गा खरिदमा २ करोड ८९ लाख ६४ हजार ९१० रुपैयाँ ९९ पैसा, जग्गा बिक्रीको लाभ कर १ लाख ५ हजार ५ सय, व्यवसाय कर २ हजार ३६० रुपैयाँ र सवारी कर १ लाख ४१ हजार ६५० रुपैयाँ तिरेको पाइएको थियो। 

सवारी कर्जाको साँवा र ब्याज ३७ लाख ८३ हजार २६२ रुपैयाँ ६६ पैसा, इन्स्योरेन्स कम्पनीबाट लिएको कर्जाको साँवा र ब्याज ५ लाख ८० हजार ७५३ रुपैयाँ र जाँच अवधिसम्ममा रहेको अन्तिम मौज्दात ४९ लाख ५५ हजार ८१८ रुपैयाँ १० पैसा देखिएको थियो। यो अवधिमा उनले ८ करोड ५६ लाख ८३ हजार ५९५ रूपैयाँ ३३ पैसा बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको अख्तियारको निष्कर्ष थियो। 

समग्र आय ४ करोड ८८ लाख ३५ हजार ८३३ रुपैयाँ ६२ मात्रै देखिए पनि ८ करोड ५६ लाख ८३ हजार ५९५ रूपैयाँ ३३ पैसा खर्च तथा लगानी गरेको पाइएको अख्तियारले जिकिर गरेको थियो। 

चालिसे परिवारको आम्दानीभन्दा तीन करोड ६८ लाख ४७ हजार ७६१ रूपैयाँ ७१ पैसाको स्रोत पुष्टि हुन नसकेको अख्तियारको दाबी थियो। यो रकम गैरकानुनी रुपमा आर्जन गरेको दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।  

चालिसेलाई अख्तियारले बयानमा बोलाएपछि उनले त्यो रकम ऋण, सापटी लिएको दाबी गर्दै तमसुक समेत पेस गरेका थिए। उनले आफ्नो परिवारका नाममा भएको खर्च पनि अन्य व्यक्तिबाट भएको दाबी अख्तियार समक्ष गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad