राजनीति


एमाले नेतृत्व विरुद्धको गलत भाष्यले हाम्रो विपरीत जनमत गयो: लेखराज भट्ट

एमाले नेतृत्व विरुद्धको गलत भाष्यले हाम्रो विपरीत जनमत गयो: लेखराज भट्ट

नेपालखबर
फागुन ३०, २०८२ शनिबार १५:५७, काठमाडौँ

जेनजी आन्दोलनपछि नेकपा (एमाले) नेतृत्व विरुद्धको गलत भाष्यले प्रतिनिधि सभाको निर्वाचनमा पराजय बेहोर्नु परेको एमाले उपमहासचिव लेखराज भट्टले बताएका छन्। 

शनिबार एमालेको केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव भट्टले चुनावी समीक्षा हुन बाँकी रहेको बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीका बुवाको निधनका कारण आजको बैठकमा चुनावबारे छलफल नभएको उनको भनाइ थियो। 

अध्यक्ष ओली पितृशोकमा रहेकाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षमा बैठक बसेको थियो। एमाले सचिवालय बैठकले समानुपातिक सांसदको चयन गरेको छ। चुनावी समीक्षा अर्को बैठकमा हुने भट्टले जानकारी दिए। 

तथापि, एमालेको हारका विषयमा सोधिएको प्रश्नमा उपमहासचिव भट्टले नेतृत्व विरुद्धको भाष्यले काम गरेको बताए। ‘भदौका ती घटनाक्रमहरू कसरी घटे, के-के भयो, त्यहाँ पार्टीको भूमिका, नेतृत्वको भूमिका के रह्यो? हाम्रो पार्टी र नेतृत्वमाथि आक्रमण भएको यथार्थ कुरा, त्यसका पछाडिको घटनाक्रमहरूलाई हामीले जनताका बीचमा लैजान सकेनौँ,’ उनले भने, ‘एमालेप्रति र नेतृत्वप्रति एउटा भाष्य खडा भयो। त्यो भाष्यले हाम्रो विपरीत जनमत गयो भन्ने नै बुझाइ हो।’

यससँगै केही कमिकमजोरी पनि भएको भनाइ थियो। एमालेले गरेका कामबारे जनतालाई जानकारी गराउँन नसक्दन सोचे अनुसार चुनावी परिणाम नआएको उनले बताए। 

अहिले एमालेले वडास्तरबाट चुनावी समीक्षा सुरु गरेको छ। ‘सबैले आआफ्नो वडास्तरबाटै समीक्षा बैठक गरिरहेका छन्। त्यो निर्देशन दिनुपर्ने छैन। के के भयो भन्ने कुरा तलबाटै स्वतः स्फुर्त रुपमा समीक्षा भइरहेको छ,’ उनले भने। 

वडा, पालिका, जिल्ला र त्यसपछि प्रदेश स्तरमा समीक्षा हुने जनाइएको छ। तलबाट आएको रिपोर्टसँगै केन्द्रमा पनि अर्को बैठकमा चुनावी समीक्षा गरिने भट्टले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad