निर्वाचन आयोगले पछिल्ला पाँच निर्वाचनको तुलनामा यस पटक मत बदर प्रतिशत घटेको जनाएको छ।
भरखरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकको गरी औषत ४.७ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ। यसअघि २०७९ सालको निर्वाचनमा ५.०५ प्रतिशत मत बदर भएको थियो।
त्यस्तै, २०७४ सालको निर्वाचनमा सबैभन्दा बढी मत बदर भएको थियो। त्यतिवेला ५.१८ प्रतिशत मत बदर भएको आयोगको तथ्यांक छ।
त्यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा ४.९६ प्रतिशत मत बदर भएको थियो। २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा ५.१५ प्रतिशत मत बदर भएको आयोगको तथ्यांक छ।
यस पटकको निर्वाचनमा समानुपातिकभन्दा प्रत्यक्षमा धेरै मत बदर भएको आयोगले जनाएको छ। समानुपातिकतर्फ ४ लाख ४५ हजार ५९२ मत बदर भएका थिए। यो ३.९५ प्रतिशत हो।
त्यस्तै, प्रत्यक्षतर्फ ६ लाख ९ हजार १५ मत बदर भएका थिए। यो भनेको ५.४५ प्रतिशत हो।
समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ जनाले र प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका थिए। यो निर्वाचनमा एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता थिए।
Shares

प्रतिक्रिया