राजनीति


चुनावलगत्तै राप्रपामा विवाद, उपाध्यक्ष र केन्द्रीय सदस्यबाट निष्कासितले गरे कडा प्रश्न

चुनावलगत्तै राप्रपामा विवाद, उपाध्यक्ष र केन्द्रीय सदस्यबाट निष्कासितले गरे कडा प्रश्न

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, निष्कासित उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्य


नेपालखबर
फागुन ३०, २०८२ शनिबार १४:१७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  का उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यले अध्यक्ष राजेन्द्र लिङ्देनसँग पार्टी विधानको कुन धारा र व्यवस्थाका आधारमा आफूहरूलाई पदबाट हटाइएको हो भनी प्रश्न गरेका छन्। 

शनिबार संयुक्त विज्ञप्ति जारी गरी उनीहरूले स्पष्टीकरणको मौकासमेत नदिई पदबाट हटाउने अधिकार राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानले अध्यक्षलाई नदिएको दाबी गरेका छन्। 

‘२०८२ फागुन ३० गते हामीलाई पदमुक्त गरियो भन्ने नोटिस अनलाइन माध्यममा देख्यौँ। प्राकृतिक न्यायको सिद्धान्तअनुकूल स्पष्टीकरणको मौकासमेत नदिई, केन्द्रीय कार्यसमिति तथा अनुशासन समितिको अधिकारक्षेत्र मिचेर यस किसीमले पदमुक्त गर्ने अधिकार राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानले अध्यक्षलाई दिएको छैन, अतः कथित कारबाही विधानसम्मत छैन’, उनीहरूले विज्ञप्तिमा लेखेका छन्, ‘त्यसैले पहिलो प्रश्न- विधानको अवज्ञा गर्दै चरम स्वेच्छाचारिता प्रदर्शन गरेर हामीलाई पदमुक्त गर्नुपर्ने अवस्था वा बाध्यता के कारण आइलाग्यो? पार्टी विधानको कुन धारा र व्यवस्थामा टेकेर अध्यक्षबाट हामीलाई पदमुक्त गरिएको हो? यस विषयमा हामी दुई मात्र नभई केन्द्रीय कार्यसमिति स्वयम् बेखबर रहेकोमा जानकारी सार्वजनिक गर्न हुन अध्यक्षज्यूलाई हामी विनम्र अनुरोध गर्दछौँ। पार्टी अध्यक्षबाटै पार्टीको विधान, केन्द्रीय कार्यसमिति तथा अनुशासन समितिको अवमूल्यन भएकोमा दुःख र खेद प्रकट गर्दछौँ।’

यसअघि राप्रपा अध्यक्ष लिङ्देनले बिहीबार उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यलाई साधारण सदस्य मात्र रहने गरी अन्य सम्पूर्ण जिम्मेवारीबाट हटाइएको जानकराी गराएका थिए।

यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ जम्मा १ (जुम्ला, ज्ञानेन्द्र शाही) र समानुपातिकतर्फ ४ सिट जितेको छ। 

यस्तो छ राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यको पूरा विज्ञप्ति

प्रेस विज्ञप्ति
२०८२ फागुन ३० गते हामीलाई पदमुक्त गरियो भन्ने नोटिस अनलाइन माध्यममा देख्यौँ। प्राकृतिक न्यायको सिद्धान्तअनुकूल स्पष्टीकरणको मौकासमेत नदिई, केन्द्रीय कार्यसमिति तथा अनुशासन समितिको अधिकारक्षेत्र मिचेर यस किसिमले पदमुक्त गर्ने अधिकार राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानले अध्यक्षलाई दिएको छैन, अतः कथित कारबाही विधानसम्मत छैन।

त्यसैले पहिलो प्रश्न, विधानको अवज्ञा गर्दै चरम स्वेच्छाचारिता प्रदर्शन गरेर हामीलाई पदमुक्त गर्नुपर्ने अवस्था वा बाध्यता के कारण आइलाग्यो? पार्टी विधानको कुन धारा र व्यवस्थामा टेकेर अध्यक्षबाट हामीलाई पदमुक्त गरिएको हो? यस विषयमा हामी दुई मात्र नभई केन्द्रीय कार्यसमिति स्वयम् बेखबर रहेकोमा जानकारी सार्वजनिक गर्न हुन अध्यक्षज्यूलाई हामी विनम्र अनुरोध गर्दछौँ। पार्टी अध्यक्षबाटै पार्टीको विधान, केन्द्रीय कार्यसमिति तथा अनुशासन समितिको अवमूल्यन भएकोमा दुःख र खेद प्रकट गर्दछौँ।

प्रतिनिधिसभा निर्वाचनपूर्व गत मंसिरमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्षज्यूले अकल्पनीय नतिजा हात पारेर राप्रपालाई देशको पहिलो पार्टी बनाउने उद्घोष गर्नुभएको थियो। तथापि अध्यक्षको एकल अधिनायकत्वमा सम्पन्न राष्ट्रिय निर्वाचन परिचालनमा केवल एकजना युवा नेता निर्वाचित हुनुभयो भने १६४ मध्ये १५९ वटा निर्वाचन क्षेत्र अर्थात् ९७ प्रतिशत निर्वाचन क्षेत्रमा राप्रपाका उम्मेद्वारहरुको जमानत जफत भयो।

यो सर्मनाक असफलताको पूर्ण जिम्मेवारी नेतृत्वले हामी दुईमाथि मात्र थोपरेर ध्यान अन्यत्र मोड्दैमा लज्जास्पद हारको नतिजा र तथ्यांक परिवर्तन हुने होइन। हामीलाई कारबाही गर्दैमा मूल नेतृत्व नैतिक जिम्मेवारीबाट मुक्त हुने पनि होइन। केन्द्रीय कार्यसमितिको चारवर्षे कार्यकाल सम्पन्न भई आगामी जेठमा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको थियो। यस्तो स्थितिमा अध्यक्षबाट विधानविपरीत स्वेच्छाचारी कारबाही गरिनु अशोभनीय छ, प्रजातन्त्रको आधारभूत मर्यादा र राजनीतिक नैतिकता विपरीत छ। यति मात्र नभएर पार्टी सुदृढीकरणको पक्षमा र वैचारिक विचनलविरुद्ध सिर्जनात्मक आलोचना गर्नेहरुमाथि गुटगत स्वार्थमा तल्लीन भई अध्यक्षबाट केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई विधानविपरीत शृंखलाबद्ध कारबाही गरिएको छ।

चुनावको संस्थागत समीक्षा गर्नुपर्ने समय, आवेगमा आएर असन्तुलित रबैया प्रदर्शन गर्नु न्यायोचित हुँदैन। यसै सन्दर्भमा समाजमा व्याप्त एक प्रसंग यहाँ उल्लेख गर्न चाहन्छौँ। कोसी प्रदेशका संसदीय दलका नेतालाई पार्टीको कुन निर्णयले प्रतिनिधिसभाको उम्मेदवार बनाइयो? लहडमा गरिएको निर्णयको प्रतिफल पार्टीले कोसीमा निर्वाचित सांसद गुमायो। त्यसैगरी बागमती प्रदेशका अर्का निर्वाचित सांसदलाई पार्टीले अडाउन सकेन। जननिर्वाचित दुई पदहरू किन र कसका लागि रिक्त बनाइयो भन्ने कुरा पार्टी-पंक्तिले खोजीनिती गर्नु अस्वाभाविक छैन। घात-अन्तरघातजस्ता विषयमा संस्थागत सम्बोधन हुन जरुरी छ। किनभने अपारदर्शी कर्मले संशय उत्पन्न गर्दछ र प्रकारान्तरले प्रश्न नेतृत्वतर्फ नै तेर्सिन्छ।

दिलविकास राजभण्डारी
उपाध्यक्ष, राप्रपा
सुरेश आचार्य केन्द्रीय सदस्य, राप्रपा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad